चीनमा रहेका नेपाली लिन केहि घण्टामा विमान उड्दै, विमानस्थल १२ घण्टा बन्द हुने !

काठमाडौँ – सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ।

चीनमा रहेका नेपालीहरु लिनका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज आज शनिबार नेपालबाट उड्दै छ।
आज अपराह्न उड्ने उक्त विमानमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन्।

निगमका अनुसार वाइडबडी जहाज फागुन ३ गते चीन पठाउन आवश्यक तयारी पूरा भईसकेको छ । चीनको वुहानमा रहेका नेपाली लिन शनिबार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् ।

चीनसंगको उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ । त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुनेछ।

चीनको हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो । अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिसकेको बताइन्छ ।

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : शनिबार, फागुन ०३, २०७६०६:१६

हङकहङबाट काठमाडौं आउन उडे, विमान भित्रै मस्तिष्क घात हुँदा गयो ज्यान !