अब दलित जनजातिलाई कर्मकाण्डलाई पनि प्रशिक्षण दिइने !

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले दलित, जनजाति समुदायमा समेत कर्मकाण्ड गराउन सक्ने जनशक्ति तयार पार्ने उद्देश्यले ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण गर्ने भएको छ ।

दलित, जनजाति समुदायमा कर्मकाण्ड गराउन सक्ने जनशक्ति न्यून हुँदा विभिन्न संस्कार गराउन समस्या हुन थालेको गुनासो आउन थालेपछि समितिले फागुन २८ गतेदेखि प्रशिक्षण दिन लागेको हो । दलित, जनजातिसँगै विभिन्न समुदायका इच्छुक महिलालाई ब्राह्मणसित राखेर प्रशिक्षण दिन लागिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बेलुकी ४ बजेदेखि ६ बजेसम्म दैनिक दुई घण्टा सामान्य संस्कृत, ज्योतिष र कर्मकाण्ड गरी तीन विषयको प्रशिक्षण दिइने छ । सैद्धान्तिकका साथै व्यावहारिक एवं प्रयोगात्मक कक्षा समाप्त भएपछि समितिले प्रमाणपत्रसमेत दिने जनाएको छ । ३०० पूर्णाङ्क राखेर शैक्षिक कार्यक्रमकै रुपमा प्रशिक्षण दिन लागिएको हो ।

सबै समुदायमा व्यावहारिक खाँचो पूरा गराउने उद्देश्यले समितिले यो कार्यक्रम ल्याएको हो । “संस्कृत विद्यापीठका शास्त्री, आचार्य तहका पाठ्यक्रममा बढी सैद्धान्तिक विषय समावेश गरिएकामा समितिले तयार पारेको पाठ्यक्रममा व्यावहारिक र प्रयोगात्मक विषयलाई जोड दिइएको छ, प्रशिक्षणपछि सहभागीले संसारका मानिसको चिना टिप्पण तयार पारी सिद्धान्त सम्मत सामान्य फलादेश गर्न सक्छन्”, उनले भने ।

पछिल्लो समय ज्योतिष र कर्मकाण्डमा नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रमअनुसारको कक्षामा भन्दा समितिको प्रशिक्षणमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले दलित र जनजाति परिवारमा शास्त्रसम्मत तवरले कर्मकाण्ड गराउन सक्ने जनशक्ति तयार पार्न कार्यक्रम गर्न लागिएको बताए ।

प्रशिक्षणमा भाग लिन हालसम्म विभिन्न समुदायका २० जनाभन्दा बढीले आवेदन दिइसकेको समितिले जनाएको छ । कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्राध्यापकले प्रशिक्षण दिनुहुने उनले बताए ।

प्रकाशित : मङ्गलबार, फागुन ०६, २०७६११:५२

आज मेध गर्जन् र चट्याङ सहित पानी पर्ने, यस्तो रहनेछ तीन दिनको मौसम !