कोरोना भाइरसविरुद्धको तयारी: संक्रमण देखिए ‘लक डाउन’ !

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिनेबित्तिकै सो क्षेत्रलाई ‘लक डाउन’ गर्ने भएको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको जनाउँदै स्वास्थ्य मन्त्रालयले कुनै क्षेत्रमा देखिनेबित्तिकै ‘लक डाउन’ गरी काम सुरु गर्ने जनाएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोनाका विषयमा सरकारले पूर्वतयारी नगरेको भन्दै संसद् र बाहिर आवाज उठिरहेका बेला मन्त्रालयले सो तयारी भएको जानकारी गराएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमण फैलिन नदिन तथा रोकथाम एंव नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलाप सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लक डाउनदेखि हवाई उडानहरू बन्दसम्मको योजना रहेको जानकारी दिए । मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा ‘पकेट एरिया लक डाउन’ गर्ने उल्लेख छ । जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहने छन् ।

कुनै पनि क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएमा सो क्षेत्रलाई तत्कालै लक डाउन गरिने उल्लेख छ । उनका अनुसार कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यकबाहेक अरू बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना बनाइएको जानकारी दिए । ‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ’, प्रवक्ता डा. देवकोटाले भने । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्नसमेत सहकार्य गरिने उनले स्पष्ट पारे ।

मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा ‘पकेट एरिया लक डाउन’ गर्ने उल्लेख छ । जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहने छन्

सरकारले यसअघि नै विभिन्न आठ देशबाट नेपाल आउने पर्यटकलाई प्रतिबन्ध लगाईसकेको छ । साथै कतार जानेका लागि श्रम स्विकृति दिनपनि बन्द गरिसकेको छ । संक्रमण नेपालमा देखिनेबित्तिकै हवाई सम्पर्कसमेत टुटाउने तयारी गरेको छ । केही क्षेत्रमा अहिलेपनि हवाई सम्पर्क टुटाईसकेपनि संक्रमण देखिनेबित्तिकै सम्बन्धित देशबाट आउने सबै हवाई उडानहरू स्थगित गर्ने निर्णयमा पुग्ने प्रवक्ता देवकोटाले जानकारी दिए । संक्रमण फैलिएको देशबाट आउनेलाई कोरोना संक्रमण नभएको भनेर दिइएको सात दिन ननाघेको प्रमाणपत्र ल्याउनुपर्ने निर्णय गरेको छ ।

प्रवक्ता डा. देवकोटाले कोरोना संक्रमण विकसित भएअनुसार व्यवस्थापन गर्ने गरी तयारी गरेको बताए । उनका अनुसार ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् । अहिलेसम्म साढे ४ सयको परीक्षण गर्दा एकजनामा बाहेक अरूमा संक्रमण देखिएको छैन । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको उनले बताए ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०२:५९

विल्पव नेकपाले लडाकु बनाउन किशोरीको अपहरण गरेको खुलासा…