नेपालको ग्रामिण भेगका महिलाहरुमा पाठेघर खस्ने समस्या एकदमै बिकराल रहेको छ । बिभिन्न कारणले पाठेघर खस्ने समस्याबाट त्यहाँका महिलाहरु ग्र्रसित रहेका छन् । उनीहरुलाई पाठेघर किन खस्छ भन्ने बारे जानकारी छैन् । सोही कारण पाठेघर खस्ने समस्या बिकराल रुपमा रहेको छ ।
चिकित्सकका अनुसार पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुँदै जानु नै पाठेघर खस्नुको मुख्य कारण हो ।
पाठेघरलाई धानेर राख्ने तन्तुहरू लच्किने, पाठेघरलाई कसेर राखेको भुइँमा संक्रमण हुने लगायतका कारण पाठेघर खस्ने गरेको चिकित्सकहरु बताउँछन् । हाम्रो समाजमा भने पाठेघर खस्ने अन्य थुप्रै कारणहरु छन् । डा. अरुण उप्रेतीका सुझाव मुलक उपायहरु हामीले त्यस्ता केही पाठेघर खस्ने कारणहरु तल उल्लेख गरेका छौँ ।
१. सानो उमेरमा विवाह
पाठेघर खस्नुमा सानो उमेरको विवाहलाई प्रमुख कारणको रुपमा लिने गरेको पाईन्छ । १९ बर्ष भन्दा पहिले आमा बन्नको लागि अङ्गप्रत्यङ्ग पूर्ण रुपले विकास भईसकेको हुँदैन् । प्रजनन अङ्ग र पाठेघरको पनि विकास पूर्णरुपमा भएको हुँदैन । यस्तो बेलामा गर्भ रहन गएमा आमा बन्दाखेरी निकै कठिनाइ हुन्छ । सानै उमेरदेखि आमा बन्दा शरीर कमजोर हुँदै जान्छ र पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुन्छ र पाठेघर झर्न जान्छ ।
२. गह्रौं भारी बोक्नु
सुत्केरी भएका महिलाहरुले गह्रौ भारी बोक्दा पाठेघर घस्ने समस्या हुन सक्छ । कमसेकम छ हप्ता गह्रौं भारी उचाल्नु हुँदैन् । सुत्केरी भईसकेपछि पाठेघर पूर्णरुपमा पहिलेको स्थानमा फर्कन छ हप्ता लाग्छ ।
३. स्वास्थ्य सेवा नपाउनु
नेपालमा सुत्केरी हुँदा ८० प्रतिशतभन्दा बढी महिलाहरु घरमा नै सुत्केरी हुन्छन् । अनेक किसिमका गलत धारणा, अज्ञानताले गर्दा बच्चा पाएपछि महिलाले राम्रो स्याहार पाउँदैनन् र यो पनि पाठेघर खस्ने कारण बन्न जान्छ ।
४. सुत्केरी हुँदा राम्रो स्याहार र खाना नपाउनु
कतिपय ठाउँहरुमा सुत्केरीलाई हरियो सागपात, अन्न, माछामासु दिन हुन्न भन्ने गलत धारणा छ । यस्तो अवस्थामा उचित स्याहारको अभावमा महिलाको शरीर कमजोर हुँदै जान्छ । त्यसमा कामको बोझ थपेमा पाठेघर खस्ने सम्भावना हुन्छ ।
५. धेरै सन्तान जन्माउनु र जन्मान्तर नहुनु
महिलाले परिवार नियोजनको सेवा प्रयोग नगर्दा बारम्बार महिला गर्भवती भइरहन्छन् । हरेकचोटि गर्भ रहेपछि शरीरको अङ्ग र पाठेघर धान्ने तन्तुहरु कमजोर हुँदै जान्छन् ।
६. जननेन्द्रिय (प्रजनन अङ्ग) हरुमा संक्रमण
गुप्ताङ्गको नियमित सरसफाई नहुँदा पाठेघर र त्यसको वरिपरिका अङ्गहरुमा संक्रमण हुन सक्छ । बारम्बार संक्रमण हुँदा र औषधि उपचारको व्यवस्था नहुँदा मांसपेशी र तन्तु कमजोर हुन जान्छ ।
७. चुरोटको कारणले
महिलाले चुरोट पिउँछिन् र उनी बारम्बार खोकिरहन्छिन् भने, खोक्दा उनको पेटमा दबाब पर्न जान्छ । यस्तो बेलामा कमजोर मांसपेशी हुँदा र पाठेघरलाई बाँधेर राख्ने नलीमा पनि दबाब पर्न जान्छ र पाठेघर बिस्तारै आफ्नो स्थान छोडेर बाहिर निस्कन्छ ।