विश्व फुटबलमा होन्डाले बनाए दुर्लभ कीर्तिमान, ५ महादेशमा गोल गर्दै बने पहिलो खेलाडी !

एजेन्सी – जापानी मिडफिल्डर केसुके होन्डाले ब्राजिलियन क्लब बोटाफोगोका लागि डेब्यु खेलमा नै गोल गरेपछि विश्व फुटबलमा दुर्लभ कीर्तिमान रचेका छन् ।

भर्खर मात्र ब्राजिलियन क्लब बोटाफोगोमा अनुबन्धित भएका होन्डाले ब्राजिलियन लिग काम्पेओनाटो करिओका अन्तर्गत बांगुविरुद्ध खेलमा गोल गरेका हुन् । उनले यस गोलसँगै दक्षिण अमेरिका महादेशमा पनि गोल गरे । यो उनले गोल गरेको पाँचौ महादेश हो । विश्व फुटबलमा ५ महादेशमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

होन्डा नेदरल्याण्डको भिटेस आर्नहममा केहि समय खेलेपछि ब्राजिलको लिगमा हिमिएका थिए । उनी हाल क्याम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षक समेत हुन् । उनले खेलाडी दर्ता प्रक्रियामा केहि समय लाग्दा ब्राजिलियन क्लबबाट खेल्न कुर्नुपरेको थियो । तर डेब्यु खेलमै गोल गर्दै उनी क्लब फुटबलमा ५ फरक महादेशबाट गोल गर्ने पहिलो खेलाडी बने । होन्डाले यसअघि एसिया, युरोप, उत्तर अमेरिका र ओसेनियामा गोल गरिसकेका छन् ।

होन्डाले क्लब फुटबलमा रुसको सीएसकेए मस्को, इटालीको एसी मिलान, मेक्सिकोको पाचुका, अष्ट्रेलियाको मेलबर्न भिक्त्री, जापानको नागोया ग्राम्पसबाट लिग खेलिसकेका छन् । उनले यसक्रममा सबै क्लबका लागि गोल समेत गरे ।

३३ वर्षीय होन्डाले जापानका लागि ९८ खेल खेलिसकेका छन् । यसक्रममा उनले ३८ गोल गरे । जापानका लागि उनले ३ पटक विश्वकप खेलेका छन् । सन् २०१० मा दक्षिण अफ्रीका, २०१४ मा ब्राजिल र २०१८ मा रुसमा भएको विश्वकपमा उनी टोलीमा थिए । उनले सन् २०११ मा जापानलाई एसियन कप जिताउने क्रममा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत भएका थिए ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०५:२६

कोरोना भाइरसका कारण युरो कप यस वर्ष नहुने !