युभेन्टसका अर्का खेलाडीमा पनि देखियो कोरोना संक्रमण !

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्काे खेलाडीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । फ्रेन्च मिडफिल्डर ब्लेइस म्याथुइडीलाई पनि मंगलबार मेडिकल परिक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

उनी कोरोना संक्रमण हुने युभेन्टसका दोस्रो खेलाडी हुन् । यसअघि ड्यानियल रुगानीलाई कोरोना संक्रमण भेटिएको थियो । रुगानीलाई कोरोना संक्रमण भेर्टिपछि म्याथुइडीसहित युभेन्टसका खेलाडीहरु गत बुधबारदेखि सेल्फ आइसोलेसन वार्डमा रहेका थिए ।

क्लबको वेभसाइटमा खेलाडीहरु ११ मार्चदेखि सेल्फ आइसोलेसन वार्डमा रहेको र उनीहरुमाथि निरन्तर निगरानी भइरहने बताएका छन् । उनको स्वस्थमा सुधार भइरहेको क्लबले उल्लेख गरेको छ ।

२०१७ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट युभेन्टस पुगेका ३२ वर्षीय म्याथुइडीले यो सिजन युभेन्टसका ३१ खेल खेलिसकेका छन् । म्याथुइडीले युभेन्टसबाट दुई सिरी ‘ए’ उपाधि जितिसकेका छन् । फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जित्दा म्याथुइडी टोलीका मुख्य सदस्य थिए । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ६ वर्ष रहँदा म्याथुइडीले विभिन्न १६ उपाधि जितेका छन् ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६०४:५०

बेललाई अर्काे सिजनमा रियलले कुनैपनि हालतमा नराख्ने !