जुम्लामा कार्यकक्षमै गाउँपालिका अध्यक्षमाथि भयो कुटपिट !

जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलमाथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन् । आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताएका छन् ।

अध्यक्ष रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार गराएपछि घर फर्किसएका छन् । ‘कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिएँ । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गर्नुभयो । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ,’ अध्यक्ष रावलले भने ।

प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए। गिट्टी बालुवाको विषयमा अध्यक्ष र शर्मा बीच मनमुटाव भएको बुझिएको छ। शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि अध्यक्ष र उनी बीच सामान्य कुराकानी मात्र भएको बताए।शर्माले भने, ‘मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेको छैन ।’

यो घटनाले त्यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ । गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको भने छैन ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०९:५१

अब मालपोत, बिजुली र यातायात बिल तिर्न ढिला भए जरीवाना नलाग्‍ने