काठमाडौं-कोरोना भाइरसका कारण शुक्रबारका लागि तोकिएको संसद् बैठक स्थगित भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण संसद् बैठक पटक-पटक स्थगित हुँदै आएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबारका लागि तोकिएको संसद् बैठक आगामी चैत १३ गते दिउँसो एक बजेका लागि तोकेको छ । यसअघि फागुन २९ गते संसद् बैठक बसेको थियो । कोरोनाको प्रभाव बढ्दै गएको भन्दै सांसदहरूले विरोध गरेपछि संसद् बैठक करिब एक हप्ताका लागि स्थगित भएको थियो ।
यस्तै बिहीबार राष्ट्रियसभाको बैठकसमेत बसेको थियो । शुक्रबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक सम्भवतः सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थागित हुनेछ । बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुन नहुने निर्णय गरेपनि त्यसलाई बेवास्ता गर्दै बिहीबार राष्ट्रियसभा र विभिन्न संसदीय समितहरूको बैठक बसेको थियो ।
बिहीबार संसदको राज्य व्यवस्था समिति, कानुन न्याय तथा मानवअधिकार समिति, अर्थ समित र राष्ट्रिय सभाको विधायन व्यस्थापन समितिको बैठक बसेको थियो । पूर्वनिर्धारित बैठकभन्दै सरकारको निर्णयलाई बेवास्ता गर्दै संसदीय समितिहरूको बैठक बसेको थियो । तर राज्य व्यवस्था समितिको बैठक भने केहीबरे बसेर स्थगित भएको थियो ।
यसैबीच, लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको बिहीबार बसेको बैठकले चैत ८ गतेदेखि हुने भनिएका लिखित परीक्षा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी विज्ञप्तिमा संक्रमणका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख छ । निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षाका कार्यक्रम थिए । आजको सौर्य दैनिकमा खबर छ।