कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चीनमा भन्दा इटालीमा धेरै !

एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक इटाली बनेको छ। एकैदिन ४२७ जनाको ज्यान गएसँगै विश्वकै सर्वाधिक नागरिक गुमाउने देश इटाली बनेको हो।

बिहिबार इटालीमा कोरोना भाइरसका कारण एकैदिन ४२७ जनाको ज्यान गएको र कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

शुरुमा कोरोना भाइरस संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको चीनमा अहिले सम्म ३२४५ जनाले ज्यान गुमाएका छन्। तर, ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दै गर्दा इटाली विश्वकै सबै भन्दा बढी नागरिक गुमाउने देश बन्न पुगेको हो। इटालीमा अहिले सम्म ४१ भन्दा बढी संक्रमित भेटिएका छन् भने चीनमा ८१ हजार भन्दा बढी संक्रमित भेटिएको तथ्यांक छ।

यस्तै इटाली र चीन पछि सबै भन्दा बढी नागरिक गुमाउने देशहरुमा इरान, स्पेन र फ्रान्स रहेका छन्। हाल सम्म इरानमा १२८४, स्पेनमा ८३३, फ्रान्समा २४३को ज्यान गैसकेको छ।

पहिलो केन्द्रविन्दु चीन भएपनि पछिल्लो समय कोरोना भाइरसले युरोपलाई केन्द्रविन्दु बनाइरहेको छ। चीनमा कम हुँदै गर्दा युरोपियन राष्ट्रहरुमा तिब्र फैलिरहेको कोरोनाले त्यहाँ अनियन्त्रित रुप लिरहेको छ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०४:१९

पशुपति आर्यघाटमा २५ जना भन्दा बढी मलामी जान नपाइने !