पशुपति आर्यघाटमा २५ जना भन्दा बढी मलामी जान नपाइने !

काठमाडौँ – विश्वभर फैलीरहेको कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले विभिन्न मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा एकपटकमा २५ जनाभन्दा बढी तीर्थालु भेला हुन रोक लगाइसकेको छ।

सरकारले मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा भेला भएका तीर्थालु बीचको दूरी कम्तीमा एक मिटर कायम गर्ने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिसकेको छ।

सरकारको यहि निर्णय अनुसार हिन्दु धर्मावलम्बीको पवित्रस्थल पशुपतिनाथ मन्दिरमा पनि तीर्थालु बीच दूरी कायम गरेर दर्शन गर्ने व्यवस्था मिलाइने भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीलाई दुरीको व्यवस्थापन गरेर मन्दिर भित्र दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै पशुपतिमा दर्शनार्थीहरुका लागि हात धुने पानी तथा सेनिटाइजर पानीको पनि व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर बन्द नहुने भएपनि सकेसम्म मन्दिरमा भिड-भाड हुन नदिने कोषको योजना छ। यसको लागि कोषले दर्शनार्थीलाई भिडभाड नगर्न आग्रह गरिसकेको छ।

पशुपति आर्यघाटमा २५ जना भन्दा बढी मलामी पनि जान नपाइने भएको छ। धार्मिकस्थलमा एकपटकमा २५ जनाभन्दा बढी तीर्थालु भेल हुन नपाउने सरकारको निर्देशन पशुपति आर्यघाटमा पनि लागू हुने बताइएको छ।

पशुपति आर्यघाटमा मलामी जानैपरे भिडभाड नगरी दुरी मिलाएर बस्न आग्रह गरिएको पशुपति क्षेत्र विकास कोषको भनाई छ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०४:३८

कोरोनाबाट बँच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ