कोरोना भाइरस: पर्सि देखि देशभरका सबै अदालत दुई साता बन्द !

काठमाडौँ – विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएका छन्।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द गर्ने निर्णय गरेको हो।

शुक्रबार भएको निर्णय अनुसार आइतबार देखि देशभरका सम्पूर्ण अदालत दुई साताका लागि बन्द हुनेछन्। बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोक्ने उक्त बैठकले निर्णय गरेको छ। यधपी बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन ।

यही चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो । बारले प्रेस विज्ञप्तिमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न अपिल गरेको थियो ।

अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यकबाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले अपिल गरेको थियो ।

सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०७:१५

प्रधानमन्त्रीले देशवासीका नाममा आज सम्बोधन गर्ने