अब जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने !

काठमाडौँ – अब जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने भएको छ। कोरोना भाइरसको त्रासका बीच सर्वसाधारणले कारोबारमा असहज परिस्थितिको सामना गर्न नपरोस् भनेर देशका बैंकर्स एसोसिएसनहरुको एक बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल फाइनान्सियल इन्स्टिच्युसनको संयूक्त बैठकले गरेको निर्णय अनुसार अब जुनसुकै बैंकको कार्ड प्रयोग गरी अर्को कुनै बैंकको एटिएमबाट पैसा निकाल्दा कुनै शुल्क लाग्ने छैन।

यस्तै इन्टरनेट, मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमबाट हुने कारोबारमा पनि कुनै शुल्क नलाग्ने भएको छ। नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवाबाट करिने कारोबारमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

यसरी निशुल्क प्रदान गरिएका सुविधाले नगदको साटो विद्युतीय कारोबार बढाउने र त्यसले कोरोनाभाइरसको जोखिम समेत कम गराउन मद्दत गर्ने अनुमान गरिएको छ।

तीन संघ सम्मिलित उक्त बैठकले आफ्ना ग्राहकहरुलाई अत्यावश्यक बाहेक बैंकका शाखामा नजान आग्रह गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६१०:०६

कतार र इरानबाट आएका दुई नेपालीमा कोरोनाको आशंका, पाटन अस्पताल भर्ना !