काठमाडौँ – शुक्रबार विदेशबाट फर्किएका दुई नेपालीका कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छ। कतार तथा इरानबाट नेपाल आएका दुई नेपालमा उच्च ज्वरो सहित कोरोना भाइरसको संक्रमण देखिएको हो।
कोरोना भाइरस संक्रमणको लक्षण देखिएका दुवै नेपाललाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। दुवैमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परिक्षणका क्रममा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो।
प्राप्त जानकारी अनुसार दुवै जना एकै विमानबाट नेपाल आइपुगेका थिए। आइसोलेसन वार्डमा भर्ना गरिएका दुवैमा १०० डिग्री भन्दा बढी ज्वरो सहितको रुघा र खोकी जस्ता लक्षण देखिएको बताइएको छ।
अस्पताल श्रोतका अनुसार दुवैको खकार र रगत परिक्षणको लागि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पठाइएको छ। परिक्षणको रिपोर्ट आएपछि मात्र उनीहरुकी कोरोना भाइरसको संक्रमण भएको हो कि होइन एकिन हुनेछ भने रिपोर्ट शनिबार आउनेछ।