आजसम्म कर्णालीमा देखिएन कोरोना, १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिए

कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ ।

भारतलगायत विभिन्न देशबाट आएका व्यक्तिको नमूना परीक्षण गरी काठमाडौँ पठाइएको थियो । स्वास्थ्य निर्देशनालय सुर्खेतका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यका अनुसार अहिलेसम्म परीक्षणका लागि पठाइएका नमूनामा कोरोनाको सङ्क्रमण देखिएको छैन । “यस प्रदेशबाट १७ जनाको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा पठाइएको छ”, उनले भने, “पठाएका सबैमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ ।”

उनका अनुसार सुर्खेतका एकजना व्यक्तिमा मौसमी रुघाखोकी भएको पाइएको छ । आचार्यका अनुसार सोमबार कर्णालीका विभिन्न जिल्लाबाट ११ जनासम्मको नमूना परीक्षण पठाउने तयारी भएको र त्यसमध्ये सुर्खेतका तीनजनाको नमूना पठाइने तयारीमा रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।

त्यसैगरी परीक्षणका लागि नमूना पठाइएकामध्ये रुकुम पश्चिमका एक र सुर्खेतका एक युवकमा कोरोनाको सङ्क्रमण हुने आशङ्का गरिएको थियो । उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ । कर्णाली प्रदेशबाट हालसम्म पठाएका रिपोर्टमध्ये पाँचजनाको आउन बाँकी रहेको प्रदेश अस्पतालले जनाएको छ । अहिलेसम्म सुर्खेतका १८६, कालीकोटमा ५१, डोल्पामा ८५ र जुम्लामा ३९ जना क्वारेन्टाइनमा छन् ।

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएको हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीलाई शुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा हालसम्म झन्डै ३०० वटा आइसोलेशन श्यया तयार भएको छ । अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२० आइसोलेशन श्यया तयारी अवस्थामा छन् । प्रदेश अस्पताल सुर्खेतमा ५०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यान जिल्ला अस्पतालमा २२, रुकुममा पाँच, डोल्पामा आठ, हुम्लामा तीन, जाजरकोटमा छ, मुगु र कालीकोटमा सात÷सात बेडमा आइसोलेशन कक्ष तयारी अवस्थामा रहेका सामाजिक विकास मन्त्री दल रावलले बताए।

सरकारका प्रवक्ता विमला केसीले मन्त्रिपरिषद्का सदस्यले एक एक महिनाको तलब कोरोना विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन र उच्च सतर्कता अपनाउन गरिएको लकडाउन अवेज्ञा गन सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला विभिन्न स्थानबाट ३३५ सवारी र तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित : मङ्गलबार, चैत १८, २०७६०९:२९

खाद्य उद्योगमा आगलागी, करिव रु २ करोड क्षति