कोरोना भाइरस (कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीका लागि आएका श्रमिकहरुलाई सुरक्षित रुपमा घर फिर्ता गरिने भएको छ ।
अन्य जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरी गर्न आएका र जिल्लाबाट अन्यत्र गएका श्रमिकहरुलाई स्थानीय सरकारको समन्वयमा पास उपलब्ध गराएर घर फिर्ता गर्ने निर्णय भएको छ । जिल्लामा गठित कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा गठित कमाण्ड फोर्सले यस्तो निर्णय गरेको फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
अन्य जिल्लाबाट आएका मजदूरहरुलाई स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र अन्य जिल्लामा जाने मजदूरहरुका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलनपछि स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनका आधारमा सम्बन्धित जिल्लामा फर्काइने प्रजिअ ढकालले जानकारी दिए ।
लकडाउनपछि खाद्यान्न, ग्यासलगायत अति आवश्यक सामग्रीको ढुवानी र वितरणका लागि उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर वितरण गर्ने र त्यसको अनुगमनका लागि समितिसमेत गठन गरिएको छ । सबै स्थानीय तहमा स्थापना गरिने क्वारेन्टाइनको अनुगमन र दैनिक प्रतिवेदनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
पाँच पालिकामा आइसोलेशन कक्ष
जिल्लाका पाँच स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिएको छ । मेलम्ची, बाह्रविसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा बलेफी र इन्द्रावती गाउँपालिकाका साथै सिन्धु सदाबहार अस्पतालमा आइसोलेशन कक्ष निर्माण गरिएको हो ।
मेलम्ची नगरपालिकामा चार शय्याको आइसोलेशन र ३० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । त्यस्तै इन्द्रावतीमा ६, बाह्रविसेमा ९ र सिन्धु सदाबहार अस्पतालमा ८ शय्याको आइसोलेशन कक्ष निर्माण भएको छ । बलेफी गाउँपालिकामा २ शय्याको आइसोलेशन कक्ष र १६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ भने जिल्लाको हेलम्बुमा २०, पाँचपोखरी थाङ्पालमा २०, चौतारामा १४, त्रिपुरासुन्दरीमा २४, लिसंखुपाखरमा १० र सुनकोशीमा २८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको जुगल र भोटेकाशी गाउँपालिकामा अझैसम्म आइसोलेशन कक्ष र क्वारेन्टाइन निर्माण हुन नसकेको जनाइएको छ ।
राहत कोषमा रु २० लाख
भोटेकोसी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, उपचार तथा उद्दारका लागि रु २० लाखको ‘गाउँपालिका स्तरीय कोरोना राहत तथा उद्दार’ कोष स्थापना गरेको छ ।
कोषमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले व्यक्तिगततर्फबाट रु एक लाख एक हजार एक सय ११ जम्मा गर्नुभएको छ । उनले यो कोषमा रकम जम्मा गर्न सबैमा आग्रह गर्नुभएको छ । यसका लागि सो गाउँपालिकाको कोरोना राहत तथा उद्दार कोषको नाममा नेपाल बङ्गलादेश बैंक लि.तातोपानी शाखामा रहेको खाता नं ०९२०००१२४१ मा रकम जम्मा गर्न सक्ने अध्यक्ष पौडेलले बताए ।
डिसइन्फेक्टन्ट’ औषधी छर्किएर सचेतना अभियान
कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिन नदिन इन्द्रावती गाउँपालिकाले ‘डिसइन्फेक्टन्ट’ औषधी छर्किएर सचेतना अभियानलाई अगाडि बढाएको छ ।
वडापिच्छैका स्थानीय र यात्रुको स्वास्थ्य परीक्षण गर्दै गाउँपालिकाले नवलपुरबाट किटनाशक औषधी छर्ने अभियानलाई व्यापक बनाएको छ । जिल्लाको सदरमुकाम चौतारादेखि मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकासम्म जोड्ने इन्द्रावतीको १२ वटै वडामा किटनाशक औषधी छर्किन थालिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए।
“गाउँपालिका क्षेत्रभर नै कोरोना सङ्क्रमणविरुद्धको सचेतना अभियानलाई व्यापक बनाएका छौं । यसकै पूर्वसावधानीका लागि ‘डिस–इन्फेक्टन्ट’ औषधी छर्किरहेका पनि हांै, यसलाई निरन्तरता दिनेछौं”, उनले भने।