झापामा एक युवकमा गरिएको कोरोना र्यापिड टेस्ट पोजेटिभ !

काठमाडौँ – र्यापिड डाइग्नोस्टिक टेस्टका क्रममा झापाक एक युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

झापा हल्दिबारी गाउँपालिकामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टका क्रममा ३० वर्षीय एक युवकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य शाखा हल्दिबारीको टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेस्टका क्रममा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय युवकमा कोरोना भाइरस देखिएको बताइएको छ।

बताइएअनुसार, कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्ति एक महिनाअघि दुबईबाट फर्किएक हुन्। बुधबार उनीमा दुई पटक सम्म र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ। कोरोना पोजेटिभ देखिएका युवक होम क्वारेन्टाइनमा रहँदै आएका थिए।

हल्दिबारी गाउँपालिकामा भारत र अन्य मुलुकबाट आयका ४८ जनाको आरडिटी परीक्षण गरिएको छ।

इँटा उद्योगका तीन हजार भारतीय मजदुरको घर फर्कने चाहना

झापाको इँटा उद्योगमा काम गरिरहेका तीन हजार भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।

इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष गुणराज थापाका अनुसार भारतको विहार र पश्चिम बङ्गालबाट गत असोजमा आएका भारतीय मजदुर चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए । लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् । काम लगाउने उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ । झापामा २७ इँटा उद्योग सञ्चालनमा रहेकामा करिब १२ उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । पानी पर्न शुरु गरेसँगै इँटा बनाउने काम रोकिएको छ ।

कतिपय भारतीय मजदुर परिवारसहित छन् । तिनका बालबच्चासमेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरु आफैँ खाना पकाएर खान्छन् । उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पु¥याइदिने गरेका छन् । “उनीहरुलाई घर पठाउने परिस्थिति नभएकाले हामीले नै खाने बस्ने सहज व्यवस्था मिलाएका छौँ”, सङ्घका अध्यक्ष थापाले भने, “उद्योग परिसरबाट उनीहरुलाई बाहिर जान दिएका छैनौँ र बाहिरका मान्छेलाई भित्र पस्न रोक लगाएका छौँ ।”

बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नं ८ का वडाध्यक्षसमेत रहनुभएका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताए । उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उनको भनाइ छ । उनीहरुलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उनले इँटाभट्टामा काम गर्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिए।

“हामीले खाने र बस्ने व्यवस्था गरे पनि उनीहरु खुशी छैनन्”, उनले भने’, “आफू सुरक्षित रहे पनि घरमा रहेका परिवार रोइरहेको अवस्था छ भन्दै बिलौना गर्छन् । कसरी सुरक्षितरूपमा उनीहरुलाई घर फर्काउने हो भन्नेबारेमा उद्योगीबीच छलफल भइरहेको छ ।”

नेपाल इँटा उद्योग सङ्घका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका इँटा उद्योगमा रहेका भारतीय मजदुरलाई तन, मन र धनले सहयोग गरिरहेको बताए ।

प्रकाशित : बुधबार, बैशाख ०३, २०७७१६:१६

आरडीटी गर्दा पोजेटिभ, पिसिआरमा नेगेटिभ !