‘मेस्सीले क्लब छाड्ने मनासय बनेका छैनन्’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्वीके सेटिनले अर्जेन्टिनी फरवार्ड तथा क्लबका कप्तान लियोनेल मेस्सीले आफ्नो व्यावसायिक खेल करियर क्याम्प नोउमा टुंग्याउने विश्वास लिएका छन् ।

बार्सिलोनामा मेस्सीको सम्झौता अर्काे समरमा सकिदैछ । सम्झौता नवीकरणबारे क्लब र मेस्सीबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन । पछिल्लो समय क्लब र मेस्सीबीच दुरी बढेको र मेस्सीले क्लब छाड्ने मनासय बनाएको विभिन्न सञ्चार माध्यममा छाएका छन् ।

तर, प्रशिक्षक सेटिनले क्लबमा अहिले जस्तो सुकै विवाद रहेपनि मेस्सीले बार्सिलोनाबाटै आफ्नो व्यावसायिक खेल करियर सकाउने विश्वास लिएका छन् । अर्जेन्टिनी फरावर्ड ‘वान क्लब, वान म्यान’ हुनेछन् । सेटिन गत जनवरीमा अर्नेस्टो भाल्भेर्डेको स्थानमा बार्सिलोनाको प्रशिक्षक बनेका थिए ।

‘क्लबमा यस्तो खाले विवाद आइरहन्छन् । ठुलो क्लबहरुमा यो सामान्य चीज नै हो । तर, दुःखको कुरा यो मिडियामा छरपस्ट भएका छन् । शान्त वातावरणमा काम गर्नु राम्रो हुन्छ,’ क्लबको पछिल्लो अवस्थाबारे बोल्दै प्रशिक्षक सेटिनले भने, ‘जतिसुकै विवादमा रहेपनि मेस्सीजस्ता खेलाडीको विषयमा क्लबले सोच्नुपर्ने हुन्छ । तर, मलाई विश्वास छ कि मेस्सीले बार्सिलोनाबाटै आफ्नो व्यावसायिक खेल करियर अघि टुंग्याउने छन् ।’

एक साताअघि उपाध्यक्षसहित ६ बोर्ड सदस्यले राजीनामा दिएपछि बार्सिलोनाको विवाद छताछुल्ल बनेको थियो । अहिले पनि यो क्रम रोकिएको छैन । क्लबका उपाध्यक्ष रोउ साउदले क्लबको पछिल्लो घट्ना क्रमको कानुनी प्रक्रिया खोज्ने बताएका छन् । तथापि अहिले कोरोना भाइरसको महामारीको कारण विश्व लगायत स्पेनिस ला लिगाको खेल स्थगित छ ।

प्रशिक्षक सेटिन यो सिजन सकिने र आफ्नो टोली नै च्याम्पियन हुने बताएका छन् । ‘म ला लिगा खेलेर च्याम्पियन बन्न चहान्छु । तर, सिजन सकिने हो कि होइन भन्ने म केही भन्न सक्दिन । तर, मलाई बार्सिलोना च्याम्पियन भइसकेको महसुस भइसकेको छ,’ सेटिनले भने । ला लिगाको ९ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले उपाधि होडमा रहेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ ।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७०३:२४

कोरोनाका कारण बार्सिलोना आर्थिक समस्यामा, ३ खेलाडी मात्रै सुरक्षित !