एन्जेसी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरको फरवार्ड भएको दाबी प्रशिक्षक रोर्बेटो मान्चिनीले बताएका छन् ।
स्विडेनका पूर्व कप्तानले विश्वका उत्कृष्ट क्लबहरु जस्तै इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, एसी मिलान, बार्सिलोना र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेको छन् । चार अलग देशमा लिग उपाधि उचालेका इब्राहिमोभिचले आफ्नो खेल जीवनमा ३३ उपाधि जितिसकेका छन् । उनले देश र क्लबका लागि खेल्ने क्रममा ९ सय १४ खेलमा ५ सय ४० गोल गरिसकेका छन् । उनको खेल जीवनमा पनि लामो भइसकेको छ ।
३८ वर्षीय इब्रा अहिले पनि माथिल्लो स्तरको फुटबल खेल्ने क्रममा इटालियन क्लब एसी मिलानमा आबद्ध छन् । मेस्सी र रोनाल्डोले युरोपियन फुटबलमा दबदबा कायम गरेका छन् । उनीहरु दुवैले गरेर ११ पटक बालोन डी ओर उपाधि जितेका छन् । मान्चिनीले इब्राहिमोभिच पनि मेस्सी र रोनाल्डोकै स्तरमा राख्न मिल्ने खेलाडी हुन् र उनी पनि सर्वकालिन उत्कृष्ट फुरवार्डका रुपमा भविष्यमा स्मरण गरिने बताए ।
‘म इब्राहिमोभिचलाई पनि मेस्सी र रोनाल्डोकै स्तरमा राख्छु । उनी जहाँ गएका छन् त्यहाँ लिग उपाधि जितेका छन् । गोल पनि त्यसरी नै गर्छन्’, उनले भने, ‘यो सिजन मिलानमा पनि उनले राम्रो गरेका छन् । यो उमेरमा पनि उनले उच्च स्तरको फुटबललाई निरन्तरता दिएका छन् । तर मलाई थाहा छैन भविष्यका बारेमा उनको के योजना छ ।’
मेस्सी र रोनाल्डोले पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका छन् । इब्राहिमोभिच यसबीचमा एकपटक मात्र ब्यालोन डी ओरको शीर्ष ४ स्थानमा पर्न सफल रहेका छन् ।
सन् २०१३ मा उनी चौथो स्थानमा रहँदा रोनाल्डो, मेस्सी र फ्रान्क रिबेरीभन्दा पछि थिए । हाल मिलानमा ६ महिनाको सम्झौता गरेका इब्रहिमोभिच त्यसपछि कता जाने यकिन छैन । उनले मिलानमा १० खेलमा ४ गोल गर्नुका साथै १ एसिस्ट गरिसकेका छन् ।