परशुरामधाम – डडेल्धुराको परशुराम नगरपालिका १२ आमपानी गाउँमा घर बनाएर बस्न थालेका राउटेमा जंगल मोह फेरि बढ्न थालेको छ । विगत वर्षमा जंगलमा बस्दै आएका राउटे जाति नेपाल सरकारले बनाइदिएका घरमा बस्दै आए पनि खाद्यान्न अभाव हुन थालेपछि तरुल, गिठा खाएर छाक टार्न फेरि जंगल पसेका छन् ।
राउटेहरु गाउँ छाडेर करीब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जंगलमा बस्न थालेका छन् । करीब एक दर्जन राउटेले राष्ट्रिय वनमा टहरा निर्माण गरेर बस्न थालेका छन् । राउटेले चुरेक्षेत्रको वन फडानी गर्दै गाईबाख्राका गोठ तथा खोर निर्माणको निहुँमा दर्जनभन्दा बढी टहरा निर्माण गरेका छन् । स्थानीय सरकारले बेवास्ता गरेको र आफूहरु भोकमरीमा परेको भन्दै आफूहरु पेटपाल्न जंगल पसेको चन्द्रसिँह राउटेले बताए । उनले भने, “हामीहरुलाई खाद्यान्नको व्यवस्था नहुँदा भोकमरी भएकाले जंगलमा गई तरुल र गिठा खाएर जीवन निर्वाह गरिरहेका छौँ ।”
लकडाउनका कारण गाउँमा मजदूरी गर्न नपाउँदा खानाको समस्या हुन थालेपछि गाईगोरु चराउन र तरुल खानका लागि जंगलमा गएको बहादुर राउटेले बताए । लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएकाले जंगलमा बस्न गएको उनले स्पष्ट पारे । परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउँदले जंगल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराइएको बताए ।
नगर प्रमुख साउदले भने, “राउटेहरुलाई खाद्यान्नको अभाव भएर जंगलमा गएको खबर पाएपछि गाउँमा पुगेर राहत वितरण गरेका छौ ।”
स्थानीय सरकारले समयमै राहत वितरण नगर्नु र राहत वितरण गर्दा राउटे जातिलाई समयमै उपलब्ध नगराउनुले ती चुरेक्षेत्रको जंगलमा पसी फँडानी गर्दै टहरा निर्माण गर्ने क्रम बढ्दै गएको स्थानीयवासी प्रेम धामीले बताए । उनले भने, “राष्ट्रिय वन क्षेत्रमा वन फँडानी गर्दै राउटेहरु जंगल बसेका छन् । वन क्षेत्र अतिक्रमण भैरहँदा पनि डिभिजन वन कार्यालय भने बेखबर रहेको छ ।”
डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त वन डिभिजन प्रमुख सरिता लामाले कर्मचारीको जनशक्ति अभावका कारण वन फँडानी नियन्त्रणमा समस्या देखिएको बताए । निमित्त प्रमुख लामाले चुरे क्षेत्र अतिक्रमण भइरहेको खबर पाएपछि वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोली गएर टहरा हटाउने काम गरिएको जानकारी दिए।