“ओलीले सरकार चलाउने वैधता गुमाए” – गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसक नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार चलाउने वैधता प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाएको बताएका छन्।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्ने सरकारले गरेको निर्णय प्रति टिप्पणी गर्दै थापाले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो बताएका हुन्।

महासंकटको क्षणमा यस्ता अध्यादेशहरू जारी गर्ने प्रधानमन्त्रीको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने भन्दै थापाले प्रधानमन्त्रीको नियत माथि प्रश्न समेत उठाएका छन्।

“महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।”,प्रधानमन्त्रीलाई मेन्सन गर्दै थापाले ट्वीटरमा लेखेका छन्।

थापा थप लेख्छन्,”संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।”

सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। जसमध्ये एक पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्था सम्बन्धि अध्यादेश थियो भने अर्को संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश थियो।

दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट पारित भएर जारी समेत भइसकेको छ। सरकारले अध्यादेश जारी गर्ने निर्णयलाई धेरै जस्तो पार्टीका नेताहरुले `बेमौसमी बाजा´को संज्ञा दिएका छन्।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१५:५८

प्रधानमन्त्रीले राष्ट्रपतिसँग गरे भेटघाट