आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ २ सम्म बन्द, लकडाउनबारे भोलि निर्णय !

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान माथि लगाइएको रोक जेठ २ गतेसम्म कायम हुने भएको छ।

शनिबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान माथि लगाइएको रोक बढाएर जेठ २ गतेसम्म पुर्याउने निर्णय गरेको हो।

यस अगाडी सरकारले वैशाख १८ गते सम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो। जसलाई बढाएर जेठ २ गतेसम्म पुर्याउने निर्णय कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले गरेको हो।

यता उच्चस्तरीय समितिले लकडाउन थप्ने, नथप्ने अथवा खुकुलो बनाउने बारे भने कुनै पनि निर्णय गरेको छैन। लकडाउन बारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले टुङ्गो लगाउने छ।

उच्चस्तरीय समितिको बैठकमा शनिबार लकडाउनको प्रभावकारिता बारे समीक्षा समेत भएको बताइएको छ। लकडाउन प्रभावकारी भएको बैठकको निष्कर्ष छ।

कोरोना कोषमा दुई अर्ब १३ करोड
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म उक्त परिमाणमा सहयोग रकम जम्मा भएको हो ।

सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ । प्राप्त विवरणअनुसार अम्बे स्टिलले रु २५ लाख, सगरमाथा इन्स्योेन्स कम्पनीले रु १६ लाख, नेपाल इँटा उद्योग महासङ्घले रु पाँच लाख कोषमा जम्मा गरेका छन् ।

यस्तै नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिले रु दुई लाख एक हजार १११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले रु एक लाख ६८ हजार ४५३, डिभिजन वन कार्यालय सल्यानले रु एक लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले रु एक लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले रु एक लाख ३१ हजार १३१ रकम कोषमा जम्मा गरेका छन् ।

नाम नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको रु ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए। सरकारले गत चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७०९:४१

भूकम्पमा ८२ घण्टा सम्म थिचिएर पनि बाँचेका ऋषि खनाललाई अहिले मर्नू न बाँच्नू !