एमबाप्पे माथि क्लोपको नजर, एमबाप्पेका बुवासंग कुरा गरे !

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जर्मन प्रशिक्षक योर्गेन क्लोपले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड केलियन एमबाप्पे अनुबन्धमा चासो राखेका छन् ।

प्रशिक्षक क्लोपले पीएसजीका स्टार एमबाप्पेलाई एनफिल्ड क्लबको सम्भावित खेलाडीको सुचीमा राख्दै उनका बुवा विल्फ्रेडसँग भविष्यको बिषयमा छलफल गरेका हुन् । फ्रान्सेली मिडियाका अनुसार क्लोपले समर ट्रान्सफरमा २१ वर्षीय एमबाप्पे अनुबन्धका लागि उनको बुवासंग प्रस्ताव राखेका छन् ।

क्लबका सेनेगलका स्टार साडियो माने निरन्तर स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएपछि लिभरपुलले एमबाप्पेमा चासो राखेको हो । एमबाप्पे पनि पीएसजी छाड्ने मनस्थितिमा रहेको छ । तर, लिभरपुलले एमबाप्पे अनुबन्ध गर्नको लागि मोटो रकम खर्चनुपर्ने हुन्छ ।

लिभरपुलले मानेलाई बेच्दै एमबाप्पे अनुबन्ध गर्न योजना अघि सार्न सक्नेछ । एमबाप्पेका लागि २ सय ५० मिलियन पाउण्डको सम्भावित रकम निर्धारण गरिएको छ । तर, कोरोना भाइरसका कारण डामाडोल बनेको युरोपको अर्थतन्त्रले ठुलो रकमको सरुवा कठिन हुने अनुमान पनि गरिएको छ ।

पीएसजीले सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य २२२ मिलियन पाउन्डमा ब्राजिल तथा बार्सिलोनाबाट नेयमारलाई अनुबन्ध गरेको थियो । लिरभपुलले एमबाप्पेको २५० मिलियन पाउन्ड खर्च गरे नेयमारको सरुवाको कीर्तिमान भंग गर्न सक्ने अनुमान गरिएको छ ।

लिभरपुलले सन् २०१७ मै एमबाप्पेको प्रतिनिधिसँग सम्पर्क गर्दै सम्भावित गन्तव्यको बिषयमा छलफल गरेको थियो । तर, मोनाकोका स्टार फरवार्ड मोटो रकमा पीएसजी पुगेका थिए । एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडसँग पनि जोडिएको छ । कोरोना भाइरसका कारण क्लबको आर्थिक मन्दीलाई ध्यानमा राख्दै रियलले अर्काे वर्षको समरमा एमबाप्पे अनुबन्ध गर्ने योजना बनाइरहेको छ ।

लिभरपुलले पछिल्लो समय युरोपेली क्लब फुटबलमा राम्रो प्रदर्शन गरिरहेका छन् । लिभरपुलले गत सिजन युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यसपटक प्रिमियर लिग उपाधिको नजिक रहेको छ ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७०३:१०

प्रशिक्षणका लागि रोनाल्डो इटाली फर्कंदै !