काठमाडौँ – ‘अ-पह-रण’ मा परेका भनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता हुने भएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएसँगै सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता हुने भएको हो।
घटनाको गम्भीरता हेरी कानुनी रुपमा दर्ता गर्ने अवस्थामा भएमा प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई सांसद र पूर्वप्रहरी महानिरीक्षक विरुद्ध प्रहरीमा उजुरी दिने सांसद सुरेन्द्र यादवको योजना आइतबार असफल भएको थियो।
राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीका विभिन्न नेताहरु सहित महानगरीय प्रहरी परिसर टेकु पुगेपनि उनको उजुरी दर्ता हुन सकेको थिएन।
महानगरीय प्रहरी परिसर टेकुमा दुई घण्टा रहँदा पनि उनको उजुरी दर्ता हुन सकेन। घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने प्रहरीको हठ पछि उजुरी दर्ता नै नगरी जनता समाजवादीका नेताहरु फर्किन बाध्य भएका थिए।