—राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर – मध्य वैशाखमा अचानक आएको बाढीले कञ्चनपुरको विभिन्न नदीको बगरमा किसानले लगाएको तरकारीखेतीमा ठूलो क्षति पुर्याएको छ ।
चुरे क्षेत्र भएर बग्ने स्याली, सनवोरा, दोदा, वनहरालगायतका नदीमा सोमबार अचानक आएको बाढीले किसानले ती नदीको बगरमा लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्याएको हो ।
बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजा, तितेकरेला लगायत तरकारीबालीमा क्षति पुर्याएपछि यस क्षेत्रका किसान चिन्तित बनेका छन् । लकडाउनका कारण बजारमा समेत तरकारी बिक्री गर्न नपाएका किसानले बाढीले तरकारीखेती बगाएपछि थप मर्कामा परेका हुन् ।
स्याली र वनहरा नदीको बगरमा तरकारी खेती गरेका दुई दर्जन बढी परिवारको रु २५ लाख मूल्य बरावरको तरकारी बाढीले बगाएर लगेको शुक्लाफाँटा नगरपालिका— १२ का वडा अध्यक्ष बाले रानाले बताए। जिल्लामा लकडाउनका बेला भारतबाट तरकारी आयातमा रोक लगाउँदा समेत बगरको तरकारी खेतीले धानिदै आएको थियो । उपभोक्ताले सस्तोमा तरकारी खान पाएका थिए उनले भने, “बगरको तरकारीमा बाढीले नोक्सानी गरेपछि किसानको मिहिनेत सबै खेर गएको छ ।” “जलवायु परिवर्तनको असरका कारण वैशाख महिनामै बाढी आयो । बगरमा लगाइएको सबै तरकारी बगाएर लग्यो”, उनले भने, “किसानले ठूलो क्षति व्यहोरेकाले सरकारले क्षतिपूर्तिको व्यवस्था मिलाउन सक्नुपर्दछ ।”
लालझाडी गाउँपालिका—४ सिकलपट्टिका एक सय २० परिवारले स्याली नदीको आठ विघा बगरमा लगाएको तरकारी बालीमा बाढीको पानी पस्दा ठूलो क्षति भएको छ । स्थानीय कृषि प्राविधिक लक्ष्मण रानाका अनुसार बाढीले रु १२ लाख मूल्य बराबरको तरकारी बगाएर वा बालुवाले पुरेर नोक्सान गरेको छ । “लकडाउन हुँदा तरकारी बिक्री गर्न नपाएर लागत खर्चनै उठाउन पाएका थिएनौं”, राजाराम डगौराले भने, “वर्षाका कारण नदीमा आएको बाढीले पुरै तरकारी बाली बगाएर क्षति पुर्याएको छ ।”
स्याली नदीमा बगर खेती गरेका चेतराज चौधरीले एक विघा बगरमा गरिएको तरकारी खेतीको लागत खर्च नै रु ५० हजार लागेको बताए । “बगरबाट रु दुई लाख बढी आम्दानी हुन्थ्यो तर नदीमा आएको बाढीले सबै तरकारी बगाएर निराश बनाएको छ,” उनले भने। “तरभुजा भर्खरै पाक्न शुरु भएको थियो । तरभुजाको गाँउमै खपत बढी हुन्थ्यो”, पिपलाडीका बगर खेतीमा संलग्न सोमवाराज चौधरीले भने, “त्यसबाट आम्दानी गरी घर खर्च चलाउने सोच राखेर बगरमा खेती गर्न शुरु गरेका थियौं । सबै बाढीमा बग्यो ।”
सनवोरा नदीको बगरमा ६० बढी परिवारले तरकारी खेती गरेका छन् । बाढीले पुरै तरकारीखेती बगाएपछि किसानले निकै क्षति व्यहोर्नु परेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । उनका अनुसार स्याली नदीमा ७० बढी परिवारले बगरमा लगाएको तरकारी खेती पुरै बगेको छ । लाखौंको क्षति पुगेको छ । बाढीले रु ३० लाख जतिको क्षति भएको हुनसक्ने उनको भनाइ छ ।
वैशाख महिनामै पहिलो पटक यति ठूलो वर्षा हुँदा किसानले नसोचेको क्षति व्योहोरेको मंगल चौधरीले बताए । दोदा नदीको बगरमा तरकारी खेती गरेका एक सय ४० बढी किसानले लगाएको तरकारी खेतीमा क्षति पुगेको छ । लालझाडी गाउँपालिका—६ का वडाध्यक्ष टिकाराम चौधरीका अनुसार दोदा नदीको बगरमा किसानले ८६ विघा जग्गामा तरकारी खेती गरेका थिए । बाढीले करिव रु ४५ लाख मूल्य बरावरको तरकारी बगाएर क्षति गरेको छ । लालझाडी गाउँपालिकाकै बल्मी र नन्दगाँउ जोडने निर्माणाधिन पक्कि पुलको सामान समेत नदीको बाढीले बगाएर क्षति पुर्याएको छ । नदीमा बाढी आउँदा बगरमा तरकारी खेती गर्नेहरुले क्षति व्यहोरेका छन गाउँपालिका अध्यक्ष मदनसेन वडायकले भन्नु यो, “क्षतिको विवरण सङ्कलन भैरहेको छ ।”
बाढीले बगाएको बृद्ध पत्ता लाग्न सकेन
कञ्चनपुरको दोदा नदीमा सोमबार आएको बाढीले बगाएर बेपत्ता बनाएका लालझाडी गाउँपालिका— १ विनवारीका अन्दाजी ६० वर्षीय साधु राना फेला परेको छैन् । नदी तर्ने क्रममा राना बगेर बेपत्ता भएको थियो । स्थानीयवासी र प्रहरीले रानाको खोजतलास गरिरहेको छ ।
नदीमा पानीको बहाव उच्च हुँदा खोजतलासमा अवरोध भैरहेको गाउँपालिका अध्यक्ष मदनसेन वडायकले बताए । “उनको खोजतलासमा जुटेका छौं”, उनले भने, “अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।” रानासंगै रहेका ५५ वर्षीय उपदेव रानालाई स्थानीयवासीले नदीमा बग्दै गरेका बेला हिजो साँझ उद्धार गरेका थिए ।