काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशालि नेता डा. भीम रावलले आफ्ना गतिविधिहरुको मूल्यांकन गरेर पदमा बसेका व्यक्तिहरुले पद छाड्न पनि तयार हुनुपर्ने बताएका छन्।
केहि दिन अगाडी ल्याएर खारेज भैसकेको अध्यादेशलाई संकेत गर्दै पार्टी विभाजको आधारभूत तयार गर्ने कुरा आइसकेको अवस्थामा त्यस कार्यमा लागिपरेकाहरुले पद छाड्न पनि तयार हुनुपर्ने उनी बताउँछन्।
“देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो व्यक्तिले कुनै नेताहरुलाई कुनै जानकारी नगराई जबर्जस्ती आफ्नो सरकारी निवासमा भेला गर्दै हिड्नुुहुन्छ भने उहाँले अध्यादेश ल्याउनुको अन्तरनिहीत के थियो भन्ने कुरा यसबाट पनि झल्किन्छ । यस्ता गलत क्रियाकलापहरु सामान्य र सतही कुरा होइनन् । त्यसकारण अब हामी कुन विकल्पमा जाने भन्नेमा छौं ।”,एक अन्तर्वार्तामा उनले भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुभन्दा अगाडि पनि अब पार्टी फुट्नेभो भन्दै हिँडेको समेत जानकारीमा आएको रावलको भनाई छ। रावलका अनुसार देश महामारीको संकटमा परेका बेला गुटगत भेला गरेर पार्टीको मर्यादा र जनताको आकांक्षामाथि खेलबाड हुने क्रियाकलाप हुनु सरासर पार्टी, नेता, कार्यकर्तामाथिको खेडवाड हो।
“अहिले केही साथीहरुले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री छोड्नुपर्दा पार्टी फुट्ने धम्की दिइरहेका छन् नेपाल कम्युनिस्ट पार्टीमा यो सुहाउने कुरा हो ? यो कुरा पार्टीको सिद्धान्त, अनुसान र पद्धतिसँग मिल्दैन ।”,रावलको भनाई छ।
“पदमा बसेका व्यक्तिहरुले जे जे गतिविधिहरु गरेका छन् त्यसको मूल्यांकन गरेर पद पनि छोड्न सक्नुपर्छ । कसैले पद छोड्नुस् भनेर छोड्ने होइन । संस्थागत निर्णय हुनुपर्छ।”,रावलले अन्तर्वार्तामा थप भनेका छन्।