काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।
मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको असर परेको उल्लेख गर्दे आज उक्त सुझाव दिएको हो ।
“अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक र असर कम भएका ठाउँमा खुकुलो बनाउनु पर्छ, यसले आर्थिक चलयामान हुन्छ”, सुझाव पत्रका भनिएको छ, “अहिले काठमाडौँमा भएको मान्छेलाई बाहिर जान दिनु हुँदैन र बाहिरका मान्छेलाई पनि काठमाडौँ आउन दिनुभएन, यहाँ उद्योग खुल्यो भने मजदुरले यही रोजगारी पाउँछन् ।”
मुख्यसचिव रेग्मीले सुझावलाई अध्ययन गरेर व्यावहारिक सुझावलाई आफूले सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिए। नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसको प्रभावका कारण अर्थ मौद्रिक तथा वित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान गर्न तयार गर्न विषयगत सुझाव मुख्यसचिव रेग्मीलाई हस्तान्तरण गरेको हो ।
भौतिक पूर्वाधारको बजेटमाथि छलफल शुरु
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटमाथि छलफल शुरु गरेका छन् ।
मन्त्री नेम्वाङले आव २०७७÷७८ का नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वमन्त्री, प्रतिनिधसभाका सांसद र प्रदेश सदस्यहरुसँग छलफल शुरु गरेका हुन् । उनले कोभिड–१९ सङ्क्रमणको त्रास भएकाले मन्त्रालयमा सामाजिक दुरी कायम गर्दै छलफल शुरु गरेका हुन् ।
मन्त्री नेम्वाङले बुधबार र आज दुवै दिन छलफल गरेका थिए । उनले बुधबार प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका सांसदसँग छलफल गरेका थिए । आज उनले प्रदेश नं १, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी सांसदहरुले कोरोनाको कहरबीच आउन लागेको बजेटमा भौतिक पूर्वाधारका क्षेत्रलाई कसरी प्रभावकारी रुपमा समेट्ने लगायतका विषयमा सुझाव राखेका थिए । सांसदहरुले राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकता दिइनुपर्ने बताएको मन्त्रालयले जनाएको छ ।