एजेन्सी – ब्राजिली स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्याटलान क्लब बार्सिलोना फर्कनको लागि आफ्नो पारिश्रमिकको ५० प्रतिशत कटौती गर्न तयार रहेका छन् ।
नेयमार पछिल्लो एक बर्षदेखि निरन्तर बार्सिलोना फर्कने चर्चा चलेको छ । गत सिजन अनुबन्ध नजिक पुगेर पनि अन्तिम समयमा रोकिएको थियो । पीएसजीले बार्सिलोनालाई नेयमारको मुल्य १७५ मिलियन पाउण्ड तोकेको छ । तर, पछिल्लोपटक नेयमार बार्सिलोनामा फर्कनका लागि आफ्नो तलव ५० प्रतिशत कटौती गर्नपनि तयार रहेको बताइएको छ ।
पीएसजीमा नेयमारले सातामा ६ लाख पाउण्ड लिदै आएका छन् । तर, बार्सिलोनामा गएमा उनले साताको ३ लाख तलव पाएपनि राजि हुने बताएका छन् । २८ वर्षे नेयमार २०१७ मा बार्सिलोनाबाट १९८ मिलियन पाउण्डमा पीएसजी पुगेका थिए । बार्सिलोना जाने मनासयमा रहेका नेयमारले पीएसजीले नयाँ सम्झौता प्रस्तावलाई अस्वीकार गरेका छन् ।
पीएसजीले उनलाई क्लवमा नै रहनका लागि २०२५ सम्मको लागि ९० मिलियन पाउन्डको अफर गरेको थियो । तर, क्लवको प्रस्तावलाई अस्वीकार गरेपछि उनी बार्सिलोना फर्कनेमा पुर्ण तयार रहेको बुझिएको छ । पीएसजीमा नेयमारको सम्झौता २०२२ सम्म छ ।
फ्रेन्च लिग वानको सिजनको बाँकी १० चरणको खेल बाँकी रहँदै लिग वान आयोजकले अंकको आधारमा पीएसजीलाई लिग वान च्याम्पियन घोषणा गरिसकेको छ । पीएसजीमा नेयमारले यो सिजन २२ खेलमा १८ गोल गरेका छन् ।