नेपालगञ्जका २२ जनालाई एकै व्यक्तिबाट कोरोना सरेको खुल्यो, सेना परिचालन !

सांकेतिक तस्विर

काठमाडौँ – कोरोना भाइरस संक्रमित बढेपछि नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आज (वैशाख २३ गते) बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको थियो। जस अनुरुप अहिले नेपालगञ्ज निषधाज्ञा जारी गर्दै सेना परिचालन गरिएको छ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन सबैलाई आग्रह स्थानीय प्रशासनले जनाएको छ।

आइतबार र सोमबार कोरोना संक्रमित फेला परेको नेपालगञ्जमा मंगलबार पनि संक्रमणको पुष्टि भइसकेको छ। मंगलबार बिहान सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ। दिन-दिनै संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँ स्वास्थ्यकर्मी, नेपाली सेनासहितको टोली खटाइएको छ।

कोरोना पुष्टि भएका पहिलो व्यक्तिको सम्पर्कमा आएका ९० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएपछि सेना सहितको टोलि खटाएर स्वाब संकलन गर्न थालिएको छ।

नेपालगञ्जमा अहिले कन्ट्याक्ट ट्रेसिङको कार्य पनि थालिएको छ। कोरोना कहाँबाट आइपुग्यो भन्ने पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङको कार्य शुरु गरिसकिएको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कुन ब्यक्तिबाट समुदायमा कोरोना फैलिएको हो भन्ने नै एकीन हुन सकेको छैन। सबै भन्दा पहिला कोरोना संक्रमण भएका व्यक्तिको खोजि भइरहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ। समुदायमा फैलिएकोले कन्ट्रयाक्ट ट्रेसिङमा असहज भएको बताइएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०७७०७:५५

अब एकल पुरुषलाई पनि मासिक भत्ता !