काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि बढ्ने बताएका छन्।
संसदको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका हुन्।
उत्पादन र सेवाका क्षेत्रहरूमा निश्चित सर्तहरूसहित सामाजिक दूरी कायम गरेर लकडाउन खोल्नुपर्ने उनको बुझाई छ। उत्पादन र सेवाका क्षेत्रहरू निश्चित सर्तसहित खोल्न नसके देशमा ठूलो सङ्कट पैदा हुने उनले बैठकमा बताए।
“कोरोना संकटलाई तोड्न विश्वले लकडाउन, आइसोलेसन, सामाजिक दूरी कायम गर्ने रणनीति लिएको छ। तर, अब उत्पादन र सेवाका क्षेत्रहरू निश्चित सर्तहरूसहित सामाजिक दूरी कायम गरेर लकडाउन खोल्नुपर्छ। लकडाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन। आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ।”,बैठकमा आफ्नो राय राख्दै उनले भने।
उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरू र विकास निर्माणका कामहरू क्रमशः सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्ने र यसले देशलाई आइपर्ने आर्थिक सङ्कटबाट बचाउने उनले स्पष्ट पारे।
साथै थापाले बैठकमा लकडाउन खुकुलो बनाएर जानुपर्ने बताएपनि लकडाउन खुकुलो बनाउँदा लागू गर्नुपर्ने नियम तथा परिमार्जित लकडाउनको मोडालिटी के-कस्तो हुने बारे केहि पनि बताएनन्।
सरकारले घोषणा गरेको लकडाउन वैशाख २५ गते सकिँदै छ। लकडाउन सकिनै लाग्दा यसलाई बढाउने अथवा परिमार्जन गर्ने भन्ने बारे मोडालिटी तयार पार्ने गृहकार्यमा सरकार जुटेको छ।