कोरोना कहरमा कुर्सीको लुछाचुँडी: राम्रो काम गरेर जनमत प्राप्त गर्ने हिम्मत गुमेको परिणति !

गोपाल सञ्जेल

दुई वर्षअघिको निर्वाचनतिर फर्कियौँ भने दुईटा कुराका लागि यो भारी जनमतको परिणाम प्राप्त भएको थियो । पहिलो, स्थिर सरकार हुन्छ । दोस्रो, देश समृद्धिको मार्गतिर जान्छ ।

एक वर्षसम्म त धैर्यपूर्वक पर्खे । गर्दै होलान् भन्ने लाग्नु स्वाभाविकै थियो । संवैधानिक सङ्क्रमण काललाई ऐनकानुनले पूरा गर्न बाँकी नै थियो । ती कार्यहरु भए पनि । विज्ञ अर्थमन्त्रीद्वारा दुई वटा बजेट प्रस्तुत हुँदासमेत समृद्धिका प्राथमिक खाका प्रस्तुत हुन नसक्ता भने कताकता मनमा चिसो पस्दै गयो । बजेट कार्यान्वयन पक्ष त घोर निराशाजनक छ ।

उल्टै अनपेक्षित कान्डहरुका शृङखलाहरु सुरु हुन थाले । प्रधानमन्त्रीका विश्वासपात्र भनिएका मन्त्रीहरुका कार्यसम्पादन विवादास्पद हुँदै गए । प्रधानमन्त्रीको सचिवालयका कार्यहरु पनि सन्तोषजनक भएनन् । सर्वत्र आलोचना सुरु भयो । पार्टीभित्रको एकीकरणको कार्यले गति लिन सकेन । अनेक झुन्ड खडा भए ।

शक्तिशाली प्रधानमन्त्रीले न आफ्नै वरिपरि लाग्ने स्वार्थीहरुको घेरा तोड्न सके न कर्मचारी तन्त्रका जालो च्यात्न सके । न पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व हाँक्न नै सके । पार्टीभित्र आफ्नो गुटभन्दा बाहिर आउन सकेनन् । यही मौका हो भन्दै उनका प्रतिस्पर्धी जाइलाग्न एक गठ भए । स्थिति यस्तो बन्यो कि ओली आफ्नो पार्टीबाट होइन अन्य पार्टीका टुक्राटाकी ल्याएर भए नि शक्ति जोगाउनु पर्ने अवस्थामा पुगे । यो कदम उल्टै घातक भयो । यदि यो योजना सफल भएको भए यतिबेला सत्तरुढ दलको राजनीतिक परिस्थिति अर्कै भइसक्थ्यो ।

पाठकहरु, यहाँ को कसले के गरे नामनामेसी उल्लेख नगरौं । छ्याङ्गैसम्म भएको भए लोकतन्त्र भन्ने हुन्थ्यो बिचरा ना-ङ्गै प्रस्तुत भएपछि कसको मात्रै कसरी नाम लिने ? जोजो, जसरी ना-ङ्गै उत्रिए, ती केबल कुर्सीको लुछाचुँडीका लागि मात्रै उत्रिए । यो बर्कत आर्थिक उन्नतिका लागि खर्चिएको भए ?

हो, यतिबेला समृद्धिको मार्गचित्र कोर्ने र विकासका प्राथमिकतामा लाग्ने बेला छैन । जनअपेक्षा यतातिर पनि छैन । यतिबेला मुलुकमात्रै होइन सिङ्गो संसार नै कोरोना भाइरस नामक महामारीको सङ्क्रमणले त्राहीमाम छ । हामीजस्ता अल्पविकसित मुलुकमात्रै होइन शक्तिशाली, सम्पन्न कहलिएका देशहरु पनि हायलकायल छन् । हजारौँ नागरिकहरुको मृत्यु भइसकेको छ । लाखौँ नागरिकहरु महामारीको सङक्रमणमा छटपटाइ रहेछन् । बन्दाबन्दीले संसारको आर्थिक क्षेत्र ठप्प छ । महिनौँ बिते कोरोनाविरुद्धको औषधिमुलो पत्तो लाग्न सकेको छैन । प्रयासरत प्रयोगशालाहरु बन्द छैनन् । तर कहिले पत्तो लाग्ला केही भन्न सकिने अवस्था छैन । हप्तौँ, महिनौँ, वर्षैँ वा कति ?

सङ्क्रमणको फैलावट यसैगरी विस्तार हुँदै जाने हो भने मानवीय सङ्कट नआउला भन्न सकिन्नँ । चीनको वुहान सहरबाट फैलिएको कोरोना महामारी आज सबभन्दा ज्यादा युरोप र अमेरिकालाई च्यापिरहेछ । तुलनात्मक रुपमा जहाँ सुविधा सम्पन्न स्वास्थ्य सेवा छ, जो शक्तिशाली छ उसैलाई बढी चपेटामा पारेको छ । त्यसैले महामारीलाई ख्यालख्याल गर्न हुन्नँ । हामी सुरक्षित छौँ भन्ने स्थिति छैन ।

हाम्रो देशको माहामारी रोकथापका प्रयास खत्तमै छ भन्न मिल्दैन । तर सन्तोषजनक मान्न पनि सकिन्नँ । के नमिलेको, के नमिलेको जस्तो मात्रै । रोकथामभन्दा पनि सबभन्दा ठूलो कुरो भनेको नागरिकहरुको सुरक्षा र आत्मविश्वास जगाउनु हो । यदि आत्मविस्वास र सुरक्षा जोगाउन सकेनौँ भने जति भरपर्दा रोकथापका प्रयासहरु पनि फितलो हुन्छन् । राज्यसंयन्त्र र सरकारका जिम्मेवार पदाधिकारीहरु नै अगाडिको पङ्क्तिमा उभिनुपर्छ । देखिनुपर्छ । रक्षाकवच बन्नुपर्छ । यो भद्दा तरिकाले होइन । अर्थपूर्ण तरिकाले । यसैले नै सुरक्षाको अनुभूति हुन्छ र आत्मविश्वास जाग्छ । हामीले गुमाएको वा पाउन नसकेको यही हो ।

अझ कनपारो तात्ने कुरो त यहीबेला कुर्सीका लागि लुछाचुँडी गर्नु हो । त्यो पनि सत्ताधारी दलभित्रै । प्रतिपक्ष विरोधमा उत्रिन सक्तैन भन्दैमा मनमौजी गर्न खोज्नु फेरि जनमत लिन पर्ने कुरो भुसुक्कै बिर्सिनु हो । जनताप्रति वेवास्ता गर्नु हो । बेइमानी गर्नु हो । धोका दिनु हो ।

बलियो बहुमत आएकै बेला छ, यहि बेला जसरी पनि शक्तिमा पुग्नै पर्छ, विधिविधान तोडेर जे सुकैहोस् भन्ने बालहठ देखाउनु जग हसाइबाहेक केचाहिँ हो त ? यस्तो मनस्थिति हुनु भनेको आउँदो निर्वाचनप्रति अलिकति पनि भरोसा नहुनु हो । राम्रो काम गरेर देखाउने अनि फेरि जनमतबाट शक्ति आर्जन गर्ने विश्वास, हिम्मत गुमेको परिणति हो ।

पार्टीका असल कार्यकर्ता सब पाखा पारिएका रैछन् । पार्टी सदस्यहरुको अनिकालै रैछ । भएका जति अधिकांश अमुकअमुक नेताका पछुवा मात्रै खडा गरिएका रहेछन् । पार्टीको सिग्लो ढिक्को रहेनछ । स्वार्थसमूहको महासंघजस्तो । यो अवस्थालाई सम्हाल्न सानोतिनो बलबुताले पुग्लाजस्तो लाग्दैन । राजकीय सुविधाप्रति हुरुक्कै हुनुले पनि जनआक्रोस ह्वात्तै बढेको छ ।

जीवन्त पार्टीमा विषयगत रुपमा मत देखिनु स्वाभाविकै हो । त्यो अमिबाजस्तो हुनुपर्छ । विषयले चुच्चो निर्धारण गरुस् । तर यहाँ त स्थायी गुट र झुन्ड । शक्ति हत्याउन टाउका गन्दै खोसाखोस र तानातान ।

दुखद् त के भने यतिबेलाका शीर्ष नेताहरुलाई अझै दोहोर्याइतेहेर्याइ पदासिन हुन पुगेकै छैन । उनीहरुका दोस्रो तहका नेताहरु मुख मिठ्याएर पर्खेका छन् । शीर्ष नेताको दौराको फेरो फुत्केला भनेर मरिहत्तेमा छन् । तेस्रो तहका नेताहरु पनि पङक्तिबद्ध छन् । मेरो पालो कहिले आउला भनेर कहिलै आफैँलाई सोधेका छन् ? यो परिपाटीले देशको मुहार फेर्ने कुरो त भर्सेलामा परिसकेको छ । यो महारोग सत्तारुढ दलमा मात्रै होइन । तर यतिबेला आग्रह सत्तारुढसँगै हुन्छ ।

पार्टी र संगठनहरु जवाफदेही र उत्तरदायी छैनन् । अहिलेको निर्वाचन प्रणाली धान्न सकिने खालको छैन । राज्य प्रणाली ज्यादै खर्चिलो छ । पुनर्विचार नगर्ने हो भने अहिलेसम्म जे र जो निर्विकल्प हौं र हो भनेका छौँ त्यो भत्किँन्छ ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७०७:३१

विज्ञले नै बिगारे अर्थतन्त्र, अर्थमन्त्रीको जागिर मात्रै खाए !