कोरोना मुक्तिको कामना गर्दै मनाइयो बुद्धजयन्ती ! [तस्विर सहित]

पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बिहीबार बुद्धजयन्तीका अवसरमा शंखध्वनिका साथ बुद्धपूजा गरिँदै । तस्वीरः राधिका कँडेल÷रासस

पोखरा – वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ ।

विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो । यस वर्ष भने कोरोनाको जोखिम हुन नदिन जारी बन्दाबन्दीका कारण सामाजिक दूरी कायम गर्दै कोरोना मुक्तिको कामना गर्दै स्तुपा, विहार तथा गुम्बामा सामान्य पूजा गरिएको हो ।

पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बौद्ध अनुयायीद्धारा पूजापाठ र ध्यान गरिँदै तस्वीरः राधिका कँडेल÷रासस

सो अवसरमा पोखरा महानगरपालिका–३ तेस्रापट्टीस्थित धर्मशिला बुद्ध विहारमा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा असहाय एक हजार जनालाई निःशुल्क भोजन गराइएको दायक सभाका पूर्वअध्यक्ष तीलकमान गुभाजुले जानकारी दिए ।

यहाँका आसपासका स्तुपा, विहार तथा गुम्बामा तत्तत् स्थानमा रहनुभएका बौद्ध भिक्षु एवं लामा गुरुहरूबाट पूजापाठ गरिएको उनले बताए । वैशाख शुक्ल पूर्णिमाका दिन गौतमबुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त भएका कारण आजको दिनलाई त्रिसंयोगको दिनका रुपमा लिइन्छ ।

पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बिहीबार बुद्ध जयन्तीका अवसरमा सहभागी बुद्ध अनुयायी । तस्वीरः राधिका कँडेल÷रासस

गुभाजुका अनुसार पोखराको अनदुमा विश्व शान्ति स्तुप, तेस्रापट्टीमा धर्मशिला बुद्ध विहार र मोहोरियामा धर्म सङ्घ बुद्ध विहारसहित झण्डै दुई दर्जनको सङ्ख्यामा गुम्बा छन् ।

प्रकाशित : बिहिबार, बैशाख २५, २०७७१३:४१

उदयपुरका थप ८ कोरोनामुक्त, भोलि डिस्चार्ज हुँदै !