कालोबजारीविरुद्ध कठोर बन्दै प्रहरी

सिरहा । बढी मूल्यमा सिमेन्ट बिक्री गर्ने व्यवसायीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटी गएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–५ स्थित राजमार्गमा लक डाउनको समयमा चलिरहेको स १ त ५१३२ नं. को ट्रयाक्टरलाई रोकी चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ९० बोरा सिमेन्टसहित उक्त ट्रयाक्टरलाई नियन्त्रणमा राखिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

ट्रयाक्टरमा लोड रहेको सिमेन्ट भाग्यवान आइरन स्टोरबाट प्रतिबोरा सात सय रुपैयाँका दरले मौखिक सम्झौता गरी प्रति बोरा ५ सय ७० का दरले विजय साहको नाममा बिल बनाई धनुषा गणेशमान चारनाथ नगरपालिकाअन्तर्गत वीरेन्द्र बजारमा सीता टेडर्स हार्डवेयर पसल सञ्चालन गरी बस्ने अजय साहलाई पठाइए थियो ।

९० बोरा शालिमार सिमेन्ट सहितको ट्रयाक्टर भाग्यवान आइरन स्टोरमा मौज्दात रहेको चार सय बोरा शालिमार सिमेन्ट र चार सय बोरा अल्ट्रा सिमेन्टसमेत सोही स्टोरमा सुरक्षित राख्न लगाई ट्रयाक्टर चालक जिल्ला सिरहा छिरेश्वरनाथ नगरपाकिका–२ बस्ने ३५ वर्षीय जगदीश सदा र भाग्यवान आइरन स्टोरका सञ्चालक प्रमोद साह समेतलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

त्यसैगरी कल्याणपुर नगरपालिका–४ को सिफारिस लिएर गएको ना ५ ख ९६६७ को ट्रकलाई पनि प्रहरीको टोलीले कब्जा गरेको छ । उक्त सिफारिसमा दलितहरूका लागि आवास कार्यक्रमका लागि सिमेन्ट लगिएको भन्ने उल्लेख थियो । प्रहरीले जाँचबुझ गर्दा त्यहाँ कुनै आवास निर्माणको कार्यक्रम नरहेको र निर्माण कार्यको टेन्डर पनि आव्हान गरिएको नपाएकाले उक्त ट्रकमा रहेको सिमेन्टसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । उक्त ट्रकमा शालिमार सिमेन्ट पाँच सय बोरा थियो ।

कल्याणपुर नगरपालिकाको पत्रमा झुठा विवरण खुलाई पासको दुरुप्रयोग गरी बढी मूल्यमा विभिन्न पसलमा सिमेन्ट विक्री वितरण गर्ने उद्देश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा पाँच सय बोरा सिमेन्टसहित ना ५ ख ९६६७ नं.को ट्रक र ट्रकचालक धादिङ जिल्ला थाक्ले गाउँपालिका–१० का ३२ वर्षीय निराजन लामालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटी गएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ स्थित राजमार्गमा स १ त ६५६८ नं. को ट्रयाक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा अन्ली फोर प्रोजेक्ट लेखिएको ६० बोरा सिमेन्ट, ट्वाइलेटको पेन एक थान, पिभिसि पाइप तीन थान, जस्ताको पत्ता १० थान, मोटरको पाइप एक थान ब्यान्डल, पिभिसि सकेट पाँच थानसहित पक्राउ गरेको छ ।

उक्त सामानको विल भरपाई कागज नभएकोले बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा उक्त सामानसहित चालक सिरहा जिल्ला मिर्चैया नगरपालिका–३ बस्ने २० वर्षीय सन्तोष कुमार यादव समेतलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७०२:०६

कुखुरा चोर लखेट्दा चितुवासँग घम्साघम्सी: हात नै चितुवाको मुखभित्र परेपछि यसरी बचे !