यहाँस्थित कारागार कार्यालयले बाह्य जिल्लाबाट कैदीबन्दी ल्याउन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको समयमा कारागारभित्र पनि रोगको सङ्क्रमण हुनसक्ने भन्दै बाह्य जिल्लाबाट पठाइने कैदीबन्दीमा रोक लगाइएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यस कारागारमा देशका बिभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण गरेर पठाउने गरिन्छ । विशेष गरी क्यान्सर रोगका बिरामीलाई यहाँ स्थानान्तरण गर्ने गरिन्छ । योसँगै नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दी र मकवानपुरमा महिला बन्दीगृह नहुँदा महिला बन्दी यहाँ पठाउने गरिन्छ ।
अहिले कार्यालयले नवलपुरलाई पत्र नै पठाएर त्रास बढेका कारण कैदीबन्दी नपठाउन अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा बाह्य जिल्लाबाट आएका कैदीबन्दीबाट असुरक्षित हुनसक्ने देखिएपछि नल्याउन भनिएको हो ।
कोरोना सङ्क्रमणको त्रास बढेसँगै सरकारले गरेको लकडाउनका समयमा मात्रै कार्यालयमा ३९ कैदीबन्दी थपिएका छन् । तीमध्ये मकवानपुरका दुई जना, नवलपुरका १२ र चितवनका २५ जना रहेका छन् । मकवानपुरबाट आउने कैदीबन्दी नगन्य सङ्ख्यामा हुने भएकाले सो जिल्लालाई मौखिकरुपमा मात्रै आग्रह गरिएको उहाँको भनाइ थियो ।
अहिले कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् । पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५८ जना, नाबालक तीन र २५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा ६७४ कैदीबन्दी रहेका छन् ।