काठमाडौं । भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने नै पछिल्लो पटक कोरोनाको संक्रमित पाइन थालेको छ । खुल्ला सिमानाका कारण सीमामा क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि तराईका सबै जिल्ला उच्च जोखिममा परेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
शनिवार थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये तीन जना भारतबाट लुकिछिपी नेपाल आएको खलुेको छ । कपिलबस्तुको मायादेवी गाउँपालिका एक र शुद्धोधन गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी कै दुई जनामा बैशाख २५ गते कोरोना देखिएको थियो । उनिहरुपनि भारतबाटै लुकिछिपी नेपाल आएको खुलेको छ । रौतहटका संक्रमित पनि ५ बैशाखमा लुकेरै लकडाउनको समयमा भारतबाट नेपाल प्रवेश गरेका हुन् । उदयपुर, वीरगञ्ज, बाँकेमा देखिएका केही संक्रमित पनि लुकिछिपी नेपाल प्रवेश गरेको ट्राभल हिस्ट्रीले देखाएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारतबाट रातमा लुकिछिपी नेपाल प्रवेश गर्नु नै मुख्य कारण
सरकारले सीमा क्षेत्रमा सुरक्षाव्यवस्था कडा गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाएको छ । प्रहरीले सीमानाकामा निक्कै कडाई गरेको दाबी गरेपनि सो व्यवहारमा लागु भएको देखिएको छैन । सीमाका कारण संक्रमितको सख्या धेरै पाउनेमा प्रदेश–५ अगाडी देखिएको छ । बाँकेको नेपालगञ्जस्थित एक मस्जिदमा बस्दै आएका ६० वर्षीय पुरुषलाई पहिलो कोरोना पोजेटिभ देखिएको हो । उनि लकडाउनकै बेला भारतमा रहेका आफन्त भेटेर नेपाल आएको ट्राभल हिस्ट्री फेला पारेको छ । उनिबाटै नेपालगञ्जमा कोरोना फैलिएको आशंका चिकित्सकहरुले गरिरहेका छन् ।
सरकारले ११ चैत देखि लकडाउनसँगै सम्पूर्ण अन्तर्राष्ट्रिय नाका सिल गरेको छ । भारतसँग सीमा जोडिएको एक हजार ८८० किलोमिटर क्षेत्रफलमा ठूलो संख्यामा सशस्त्र प्रहरी बल सुरक्षार्थ खटिएको छ । उच्च सुरक्षा निगरानी गरिएको बताएपनि लुकेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । जसका कारणले कोभिड–१९ को संक्रमण फैलिने जोखिम पनि त्यतिकै बढेको छ ।
रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत तराईका जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेका वेला त्यताबाट नेपाल प्रवेश गर्नेहरुको संख्या सीमामा निकै ठूलो भएकाले पनि चिन्ता बढाएको छ । तीन जिल्लामा मात्र अहिले पनि २ हजार ५ सयभन्दा बढी नेपाली नागरिक नेपाल प्रवेश गर्ने प्रतिक्षामा बसेका छन् । उनीहरुले नेपाल प्रवेश गर्ने अनुकूल मौका हेरेर बसेका कारण झुक्याउन सक्ने ड्यूटीमा खटिएका नेपाली सुरक्षाकर्मीहरुले बताएका छन् ।
उनीहरूको केहीदिनदेखि स्वदेश फर्किन पाउने आशमा नाकामा भीड बढिरहेको छ । लकडाउनकै क्रममा उनीहरू भारतका विभिन्न शहरबाट हिँडेर नाकामा पुगेका हुन् । उनीहरूको तत्काल उचित व्यवस्थापन नगरिने हो भने लुकिछिपि नेपाल प्रवेश गर्न सक्ने र त्यसबाट ठूलो जोखिम हुन सक्ने देखिएको स्वास्थ्यविज्ञहरुले चेतावनी दिएका छन् । भारतीय पक्षले बस्न नदिने र नेपालतर्फ प्रवेश गर्न पनि सुरक्षाकर्मीले नदिएपछि उनीहरूको विचल्ली भइरहेको छ ।
मौषम प्रतिकुल भएको अवस्था हेरेर उनिहरु नेपाल प्रवेश गर्ने गरेको सुरक्षाकर्मीहरु बताउछन् । जुन रोक्न निक्कै चुनौतिपूर्ण हुने उनिहरुको भनाई छ । भारतसँग सीमा जोडिएको नवलपरासीको २७ किलोमिटर लामो सीमामा ५५ वटा क्याम्प बनाएर २४ घण्टा प्रहरीले पहरा दिएको छ । यस्तै रुपन्देहीको पनि ६० किलोमिटर लामो सीमामा १ हजार २ सयभन्दा बढी प्रहरी सुरक्षाका लागि खटिएका छन् । तरपनि पूर्ण रुपमा मान्छेहरु रोक्न नसकेको आरोप प्रहरीलाई लागेको छ ।