यूईएफए च्याम्पियन्स लिग: लियुभेन्टस र लियोनको खेल हुने मिति तोकियो !

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेग अन्तर्गत फ्रान्सेली क्लब लियोन र इटालियन च्याम्पियन युभेन्टसबीच खेल हुने मिति तय भएको छ । पहिलो लेगमा लियोन १-० ले विजयी रहेको थियो ।

लियोका अध्यक्ष जन मिसेल औलासले एक अन्तर्वार्ताका क्रममा यूईएफएले तोकेको खेल हुने मितिको खुलासा गरेका हुन् । औलासका अनुसार लियोनले युभेन्टसको घरेलु मैदानमा अगष्ट ७ तारिखमा खेल्नेछ । फ्रान्सेली लिग रद्द भएसँगै लियोनले अब च्याम्पियन्स लिगमा मात्र सहभागिता जनाउनेछ । फ्रान्सेली टोलीलाई यसले बेफाइदा हुने अध्यक्ष औलासले बताए ।

‘ हाम्रो युभेन्टससँगको खेल अगष्ट ७ का लागि पक्का भएको छ । खेल टुरीनमा हुनेछ र बन्द रंगशालामा खेल खेलाइनेछ । हामीले यसको विरुद्ध अपिल त गरेका छौं । यदि खेल हुने नै भयो भने हामी र पिएसजीलाई भने अन्य टोलीको तुलनामा निकै बेफाइदा हुनेछ,’ औलासले भने ।

फ्रान्समा सेप्टेम्बर महिनासम्म कुनै पनि खेलकुद गतिवधि संचालन गर्न नपाइने नियम बनेपछि फ्रान्सेली लिग रद्द गरिएको थियो । अन्य लिगको हकमा भने लिग अझैपनि सुचारु हुने सम्भावना रहेको छ । यससँगै लियोन र पिएसजीले अब सिधै आफ्नो च्याम्पियन्स लिगका खेलहरु खेल्नेछन् ।

च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत युभेन्टस-लियोन, म्यानचेस्टर सिटी-रियल म्याड्रिड, बायर्न-चेल्सी तथा बार्सिलोना-नेपोलीका खेल बाँकी छन् । एटलान्टा, लाइपजिग, एटलेटिको म्याड्रिड र पिएसजीले भने क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७०५:२२

एम्बाप्पेले रियलमा रोनाल्डोको स्थान लिनेछन्