“भारतले सुगौली सन्धी नमाने नेपालको सीमा टिस्टा र काँगडासम्म हो”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द लोहनीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने प्रमाणहरु प्रशस्त रहेको अवस्थामा भारतले नेपालको भूमि मिच्नु गलत भएको बताएका छन्।

एक निजि मिडियासंग अन्तर्वार्ता दिने क्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका लोहनीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने प्रशस्त प्रमाणहरु भएको अवस्थामा पनि मित्रराष्ट्रले सार्वभौमिकतामाथि चुनौति दिनु दुखको कुरा भएको बताएका हुन्।

“भारतबाट नेपालको भूमिमा जसरी सडक बनाउने काम भएको छ । त्यो सरासर गलत हो । यसले नेपालको सार्वभौमिकतामाथि चुनौति दिएको देखिन्छ । मित्रराष्ट्रबाट भएको यो अत्यन्तै गलत काम हो । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने प्रमाणहरु प्रशस्त छन् ।”,उनले भने।

सुगौली सन्धि भएको बेलाको नक्सालाई आधार मान्दा कालापानी लगायतका क्षेत्र नेपालको हुन आउने हुँदा भारतले त्यस क्षेत्रलाई आफ्नो भनि दावी गर्नु सरासर गलत हुन जाने उनको दावी छ। सुगौली सन्धिलाई आधार नमानेको अवस्थामा नेपालको सीमा काँगडा–टिस्टासम्म हुनुपर्ने उनले दावी गरे।

“प्रमाण नहेर्ने हो भने त कुन देशको कहाँसम्म सीमाना भनेर छुट्ट्याउनै सकिँदैन नि । सुगौली सन्धि भएको बेलाको नक्सालाई नमान्ने हो नेपालको सीमाना कुन हो त ? त्यसलाई नमान्ने हो भने कि काँगडा–टिस्टासम्म हुनुपर्यो । होइन सुगौली सन्धीयताका पुराना डकुमेन्टका आधारमा हुने हो भने त्यो जमीन नेपालको हो ।”,उनले अन्तर्वार्तामा भनेका छन्।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७०७:४१

अभिनेत्री सम्राज्ञीले प्रेमीको प्रशंसा गर्दै लेखिन यस्तो!