राँझा – सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ ।
भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन सक्ने आशङ्काले स्थानीयवासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
पन्ध्र दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यको भनाइ छ । उनका अनुसार सङ्क्रमित तीनमध्ये एक युवक सोमवार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशङ्का बढेकाले वडामा सजगता अपनाइएको छ ।
उन्नाइस, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो । नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।
१७ महिने बालकमा कालाजार
देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो ।
पूर्वी–उत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रीका १७ महिने बालक देवीन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा राजुराज जैशीले जानकारी दिए ।
करिब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएका थिए । बिरामी बालकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स्वास्थ्य परीक्षण गर्दा कालाजार भएको पुष्टि भएपछि थप उपचारका लागि धनगढी सिफारिस गरिएको जैशीको भनाइ छ ।
बालकको अवस्था चिन्ताजनक भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुँदा बालकलाई धनगढी सिफारिस गरिएको हो । कोल्टी क्षेत्रमा कालाजारका अन्य पनि बिरामी हुनसक्ने सम्भावना भएकाले समयमै यो रोग नियन्त्रणका लागि गाउँगाउँमा क्याम्प राखेर उपचार गर्न आवश्यक रहेको विज्ञले बताएका छन् ।