फुटबलर उत्तम मास्क लगाएर कसे लगनगाँठो !

काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको ५० दिन नाघिसकेको छ । यसबीचमा फुटबल खेलाडी उत्तम गुरुङ विवाह बन्धनमा बाँधिएका छन् । उनले बेलायत बस्दै आएकी पोखराकी ज्योति गुरुङसँग विवाह गरेका हुन् ।

पोखराको भद्रकाली मन्दिरमा वैशाख २५ गतेको विवाह भएको उत्तमले जानकारी दिए । कोराना भाइरसको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै दुलाहा दुलही दुवैले मास्क प्रयोग गर्नुका साथै विवाहमा सामेल हुनेहरुमा पनि सामाजिक दुरीलाई ख्याल गरिएको उनले जानकारी दिए ।

‘हाम्रो विवाह परिवारका १२/१५ जना मात्र सहभागी हुनुहुन्थ्यो । यो समयमा भिडभाड गर्नु ठीक हुँदैन भन्नेमा हामी सचेत थियौं ,’ उनले भने,’ मन्दिरमा गएर रित पुर्याएर विवाह गर्यौं । अनि घरमा भित्राएका हौं । अहिले पार्टी पनि गरेनौं । कोराना नियन्त्रण भएर अवस्था सामान्य भएपछि गरौंला । ‘

उत्तम लम्जुङका स्थायी बासिन्दा हुन् । ज्योति पोखरा घर भई झन्डै ७ वर्षदेखि बेलायत बस्दै आएकी थिइन् । उत्तमका अनुसार ३ साताको छुट्टी मनाउन घर आएका बेला दुई जनाबीचको भेटघाट र परिवारिक सल्लाहमा विवाह गर्ने निधो भएको थियो । ‘नाताले सोल्टिनी पर्ने हो । उनी छुट्टीमा आएको थिइन् । यसो कहिले काही समाजमा भेट हुन्थ्यो,’ उत्तमले लजाउँदै भने, ‘त्यस्तैमा परिवारका बीचमा सल्लाह भयो र विवाह गरौं ।’

३२ वर्षे उत्तमले फागुनमा सम्पन्न ए डिभजिन लिग ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए । त्यसअघि उनले रुस्लान थ्री स्टार क्लब, सान मिगल मछिन्द्र क्लब, बौद्ध क्लब, आरसिटी, लुम्बिनी र पोखराको सहारा क्लबबाट पनि खेलेका थिए ।

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७०९:३१

मेस्सीसँगको प्रतिष्पर्धा बारे रोनाल्डो स्पष्ट भनाई ! यसो भने…