धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको शुक्रबार निधन भयो । मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आयो । कोरोनाकै कारणले मृत्यु भएकी ती महिलाको अन्त्येष्टि गर्ने सम्बन्धमा भने जिम्मेवारी निकायलाई शनिबार दिनभर टाउको दुखाइ बन्यो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
सरकारी संयन्त्रसँग डेट बडीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा कुनै पनि निकायको पूर्वतयारी थिएन । शनिबार दिनभर स्वास्थ्य मन्त्रालय, धुलिखेल नगरपालिका, प्रहरी, भक्तपुर नगरपालिकालगायत बीच कुनै पनि प्रकारको समन्वय भएन । कोरोनाले मृत्यु भएका व्यक्तिको अन्त्येष्टि कसरी गर्ने भनेर पूर्वतयारी नभएकाले यी निकाय पन्छिए ।
शनिबार साँझ ६ बजेतिर स्काउट र विपद् व्यवस्थापनमा काम गर्दै आएका राजेश गाइजुले भक्तपुर प्रहरी परिसरलाई आफूहरूले कोरोनाले मृत्यु भएको डेट बढीलाई अन्त्येष्टि गर्ने बताए । त्यसपछि शववहान लिएर उनीसहितको आरएएन १६ रेस्क्यु टोली धुलिखेलतर्फ प्रस्थान ग¥यो । यो टोलीले कोरोनाले मृत्यु भएको व्यक्तिको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पूर्ण तालिम लिएको थियो ।
सरकारी निकायबीच शव व्यवस्थापनमा पहल नभइरहेको अवस्थामा गाइजुको रेस्क्यु टोलीले शव व्यवस्थापन गरेको थियो । उक्त रेस्क्यु टोलीमा अरुण सैजु, न्हुजकिजु र पुनम कर्माचार्य छन् । उनीहरूले कोरोना संक्रमितबाट कसैको निधन भएमा आफूहरूले डेट बडीलाई व्यवस्थापन गर्नसक्ने उदारहण शनिबार देखाइसकेका छन् । ‘अरू निकाय तत्पर नभएको अवस्थामा प्रहरीसँग समन्वय गरेर हामीले शव व्यवस्थापन गर्यौं, हामीसँग पूर्ण सतर्कता र सावधानी अपनाउने तरिका छ,’ टोलीका अरुण सैजुले भने ।
सरकारले महामारी फैलिरहेको बेला स्थानीय तहलाई गरेको व्यवहारप्रति भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति असन्तुष्ट छन् । उनले सरकारले महामारीको बेला स्थानीय तहलाई आदेशबाहेक अरू सहयोग नगरेको बताए । ‘न राहत वितरणमा तयारी थियो, एकैचोटि आदेश दियो केन्द्रबाट, क्वारेन्टिन बनाऊ भनेर आदेश दियो, त्यसका लागि आवश्यक बजेट र उपकरण दिएन,’ उनले भने, ‘यसकै व्यवस्थापन र राहत वितरणमा १ करोडभन्दा बढी बजेट खर्च भइसकेको छ ।’ उनले सरकारले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमा २ अर्बभन्दा बढी बजेट संकलन भए पनि विपद्को बेला उक्त बजेट सरकारले परिचालन नगरेको जानकारी दिए । ‘हामी त्यति कमजोर त छैनौं तर केन्द्रीय सरकारले स्थानीय सरकारलाई हेला गर्दै आइरहेको छ, यस्तो बेलामा सबैभन्दा बढी जिम्मेवार र भूमिका स्थानीय तहले नै निभाइरहेका छन्,’ उनले सुनाए ।
रेस्क्यु टिमकै अर्का व्यक्ति पुनम कर्मचार्यले सरकारी निकायसँग समन्वय गरी आफूहरूले सहयोग गर्ने बताइन् । उनले यस्तो अवस्थामा सरकारी निकायको तयारी नभएकाले आफूहरूले छलफल गरेर टिम तयार पारेको बताइन् । ‘हुन त यस्तो अवस्थामा सरकारले नै राम्रोसँग पूर्वतयारी गर्नुपर्ने हो, हामीले यस्तै महामारीलाई ख्याल गरेर पूर्वतयारी गरेका थियौं, काम लाग्यो,’ उनले भनिन् ।