गुल्मीका संक्रमितको स्वास्थ्यावस्था बारे मिडियामा अनेक हल्ला, तर वास्तविकता भने यस्तो !

सांकेतिक तस्विर

रुपन्देही – रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ ।

अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विभिन्न समाचारमाध्यममा यसबारे समाचार सम्प्रेषण हुनु स्वाभाविक हो तर केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दर्छौँ । ”

एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते अस्पताल आएका उनलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो ।

थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना संक्रमण देखिएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

दश स्वास्थ्यकर्मीको स्वाब परीक्षणमाः संक्रमितको गाउँपालिका बन्द

अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनले वैशाख ३१ गते करीब ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए ।

पोलिक्लिनिकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अन्यत्र जान सिफारिस गरेपछि उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए। क्रिमसन अस्पताल भर्ना भएको दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०४:३६

कांग्रेस प्रवक्ता भन्छन् – “हाम्रो हातमा नक्सा, उसको हातमा जमिन नहोस्”