“नेपालमा कोरोनाको कारण अहिले सम्म कसैको ज्यान गएको छैन” – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको भान्सा तथा खान-पान वैज्ञानिक भएको दावी गरेका छन्।

मंगलबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिनेक्रममा ओलीले नेपालीहरुको भान्सा तथा खान-पान वैज्ञानिक भएको दावी गरेका हुन्। भान्सा तथा खान-पान वैज्ञानिक भएकै कारण नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको ओलीको तर्क छ।

“हाम्रो भान्सा अत्यन्तै वैज्ञानिक छ। भान्सा वैज्ञानिक भएकै कारण रोग प्रतिरोधात्मक क्षमता बलियो छ ।”, ओलीले भने। नेपालमा हाल सम्म ज्यान गुमाएका दुवै जनाको कोरोनाका कारण नभई अन्य समस्याका कारण गएको उनले तर्क गरे।

कोरोना भाइरस संक्रमणले छोएपछि कोरोनाकै कारण ज्यान गएको बताउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डको कारणले मात्र नेपालमा दुई जनाको कोरोनाको कारण ज्यान गयो भन्नु परेको उनको भनाई छ। नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बलियो छ भन्दैमा लापरवाही भने गर्न नहुने ओलीले बताए।

“नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बढी हुँदा भन्दैमा लापरवाही गर्नु भने हुँदैन”,उनले भने,”हाम्रो भान्सामा बेसार, लसुन, मरिच, टिमुर, अदुवा हुन्छन्। साथै अमला कागती पनि हुन्छन्। खाना खाँदा खुर्सानी रोक्ने चलन छ। यी सबै औषधीय गुण भएका चीजहरु हुन्। रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनैको लागि हाम्रा पूर्वजहरुले हजारौं वर्ष देखि यी चीजहरुको प्रयोग गर्दै आएका छन्।” पहिला देखि चलिआएका खान-पानका संस्कारलाई भुल्न नहुनेमा उनले जोड दिए।

“पिज्जा भन्दा ढिडो नै ठीक छ। यो प्रमाणिक वैज्ञानिक कुरा हो। कोरोनाको औषधि छैन, जोगिने कुरा नै प्रमुख कुरा हो।”,उनले भने।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१२:४५

ललितपुरका संक्रमित डाक्टर रहेको खुल्यो !