कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ !

काठमाडौं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ ।

फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो ।

आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ । हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ ।

यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका ११० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

सङ्क्रमित बस्ने द्यौला बस्ती ‘सिल’

भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले ‘सिल’ गरेको छ । भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उनको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर बस्ती सिल गरेको छ ।

बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७०६:३२

सङ्क्रमित बस्ने द्यौला बस्ती ‘सिल’