फूलमाला र खादा सहित डिस्चार्ज भए २१ कोरोना संक्रमित !

राँझा, नेपालगञ्जका पहिलो सङ्क्रमित सहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए । उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो ।

दोस्रो रिपोर्ट  पनि नेगेटिभ आएपछि शुक्रबार २१ जनालाई डिस्चार्ज गरिएको छ । कोरोना निको भएकाहरुलाई फूलमाला, खादा ओढाएर बिदाई गरिएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुने संक्रमितको संख्या ७० पुगेको छ । शुक्रबार डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिइएको छ ।

बाँकेमा एक सय एक जनामा कोरोना देखिएको छ । त्यसमध्येमा एकजनाको मृत्यु भइसकेको छ । सय जना विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा छन् । अझ क्वारेन्टाइनमा ठूलो संख्या छ । उनीहरुको जाँच भइसकेको छैन ।

बाँकेमा अहिले सम्म १ सय १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जस मध्ये १ जनाको ज्यान गएको छ भने विभिन्न अस्पतालमा ८० जनाको उपचार भइरहेको छ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा शुक्रबार डिस्चार्ज भएका २१ जना सहित २५ जना संक्रमितलाई राखी उपचार भइरहेको थियो । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७०८:११

“एकतर्फी नक्सा जारी गर्दैमा लिम्पियाधुरा नेपालको भन्न मिल्दैन, जमीन फिर्ता हुँदैन”