काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेपाल कसैको छोटे भाइ नभएको बताएका छन्। राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल र उपसमाचारदाता शरद शर्मासँग संवाद गर्दै पौडेलले नेपाल कसैको छोटे भाइ नभएको बताएका हुन् ।
स्वतन्त्र एवं सार्वभौम राष्ट्रलाई छोटे भाइ भनेर लाञ्छित वा अपमानित गरिनु दुःखद् कुरा रहेको भन्दै उनले यस्तो अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीका लागि स्वीकार्य र सह्य हुन नसकने बताएका छन्।
“स्वतन्त्र एवं सार्वभौम राष्ट्रलाई छोटे भाइ भनेर लाञ्छित वा अपमानित गरिनु दुःखद् कुरा हो । यस्तो अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीका लागि स्वीकार्य र सह्य हुन सक्तैन ।”,अन्तर्वार्तामा उनले भनेका छन्।
स्वतन्त्रता र सार्वभौमसत्तालाई आकारका दृष्टिले सानो ठूलो भनेर हेर्न नहुने उनको भनाई छ। पाल र भारतबीचको सीमा विवादमा नेपालको पक्षमा सत्य रहेको उनले दावी पनि गरेका छन्।
“स्वतन्त्रता र सार्वभौमसत्तालाई आकारका दृष्टिले सानो ठूलो भनेर हेरिँदैन, यो हलुंँगो र गह्रुङ्गो भनेर तौलने विषय पनि होइन । सत्य र शक्तिबीचको लडाइँमा कहिलेकाहीँ शक्तिले जित्न पनि सक्ला तर अन्तिम जीत सत्यकै हुन्छ । नेपाल र भारतबीचको सीमा विवादमा नेपालको पक्षमा सत्य छ । नेपालसँंग जे जति तथ्य र प्रमाणहरु छन्, भारतले तिनलाई खण्डित गर्न सम्भव छैन ।”,दावी गर्दै उनले भनेका छन्।
काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रको करीब ३९५ वर्ग किलोमिटर भूमि नेपालको हो भनेर भारतले स्वीकार गर्ने उनको विश्वास छ।