कोरोनाका कारण मालिकको मृत्यु भयो, मालिक फिर्ता आउने आशामा ३ महिना भड्किरह्यो !

एजेन्सी – करिब तीन महिना अगाडी चीनको वुहानमा कोरोना भाइरस संक्रमण उत्कर्षमा थियो। त्यहाँ हजारौं नागरिकमा कोरोना संक्रमण सरिसकेको थियो। जसमध्ये एक वृद्ध पनि थिए।

अस्पताल पुर्याएको पाँच दिन सम्म पनि उनको स्वास्थ्यमा सुधार भएन। वुहान स्थित ताइकांग अस्पतालका चिकित्सकहरुले उनलाई बचाउने सक्दो प्रयास गरे। तर, उनको निधन भयो। तत्कालै उनको अन्त्येष्टि पनि गरियो।

कोरोनाका कारण ज्यान गुमाएका उनले एक कुकुर पालेका थिए। अस्पताल ल्याउँदा पच्छ्याएर उक्त कुकुर पनि सोहि अस्पताल आसपास आएको थियो। वृद्धको ज्यान गएको तीन महिना सम्म पनि उक्त कुकुर अस्पताल आउन छाडेन। आफ्ना मालिक फिर्ता आउने आशामा उ दिन-दिनै अस्पताल आउने गर्थ्यो।

दिनहुँ अस्पताल आसपास घुमिरहेको उक्त कुकुरमा माथि अस्पतालका कर्मचारीको आँखा पर्यो र उसको स्याहार उनीहरुले गरे। उसलाई अस्पतालमा सुपरमार्केट चलाउने वु कुइफेनले खुवाउन थाले। पछि बुझ्दै जाँदा कुकुर निधन भएका कोरोना संक्रमितको रहेको खुल्यो। वु कुइफेनले कुकुरलाई टाढा छाडेर आउने प्रयास पनि गरे। तर, आफ्ना मालिक फिर्ता आउने आशामा उ अस्पताल धाउन छाडेन।

“अप्रिलको मध्यमा जबमा पसल खोल्न आएँ, तब मैले उक्त कुकुरलाई देखें। जहिले पनि अस्पतालमा देखिने कुकुर बारे अस्पताल कर्मचारीसँग बुझें। उसको मालिक बितिसकेको थाहा हुन आयो।”,वु कुइफेन भन्छन्,”अस्पतालमा भड्किएको देखेर मैले उसलाई खुवाउन थालें। धेरै दिन सम्म खुवाएँ। मैले उसलाई कतै टाढा लगेर छाड्ने प्रयास पनि गरें। तर, जहाँबाट पनि फिर्ता आयो।”

जे गर्दा पनि उक्त कुकुरले अस्पताल छाड्न नमानेपछि आफूहरुले वुहान पशु संरक्षण संघलाई सम्पर्क गर्न बाध्य भएको उनी बताउँछन्। अहिले उक्त कुकुर वुहान पशु संरक्षण संघको सम्रक्षणमा छ। कुकुरले आफ्ना मालिक प्रति देखाएको वफादारिले आफूहरुलाई चकित बनाएको वु कुइफेनको भनाई छ।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७१५:०५

क्वारेन्टिनमा महिलाको मृत्यु, पिसिआर रिपोर्ट नआउँदै शव व्यवस्थापन !