स्याङ्जा – एक युवतीलाई करणी गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ ।
१९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए ।
करणीको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
कारागारमा उच्च सतर्कता
कोरोना सङ्क्रमणको जोखिम कम गर्न दाङको घोराहीमा रहेको कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागारमा थपिने कैदीबन्दीलाई क्वारेन्टिनमा राखेर मात्रै लैजाने गरिएको तथा भेटघाटमा रोक लगाइएको छ ।
घोराही कारागारमा पाँच जना अट्ने क्वारेन्टिन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेयले जानकारी दिए। बन्दाबन्दी शुरु भएपछि कारागारमा तीन कैदीबन्दी थपिएका छन् । उनीहरुलाई कारागारकै क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उनले बताए। घोराही कारागारमा २८५ कैदीबन्दी छन् ।
यसैगरी तुलसीपुर कारागारमा पनि सतर्कता अपनाइएको जेलर युवराज परियारले जानकारी दिए। उनका अनुसार कारागारमा थपिने कैदीबन्दीलाई राख्नका लागि क्वारेन्टाइन निर्माण नगरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै राख्ने गरिएको छ । चार सय ६५ कैदीबन्दी रहेको कारागारमा ३२ महिला, ११ विदेशी र चार बालबालिका छन् ।