छ दिनमै कोरोना जितेर फर्किइन् भक्तपुरकी सङ्क्रमित जनप्रतिनिधि !

सांकेतिक तस्विर

भक्तपुर – कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन् ।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो ।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्किएकी हुन्। वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ ।

यातायात मजदुरको कोभिड–१९ परीक्षण गर्न माग

नेपाल यातायात मजदुर सङ्घले मोरोना भाइरसमो सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका मजदुरलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ मा देशभर बन्दाबन्दी भएको अवस्थामा अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

“अत्यावश्यक सेवा एम्बुलेन्स, इन्धन, खाद्यान्न ढुवानीमा कार्यरत यातायात मजदुरलाई कोरोना निःशुल्क परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ”, उनले भने। सङ्घले अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरलाई कोरोना सङ्क्रमण हुनेकित्तिकै पाउने गरी सरकारबाट रु दुई लाखको बीमा गर्ने व्यवस्था गर्न माग गरेको छ ।

अध्यक्ष भण्डारीले यातायात मजदुरको कार्यस्थलमा मृत्यु भएको खण्डमा उपदानसहितको पर्याप्त क्षतिपूर्ति तथा अन्य सुविधाको व्यवस्था गर्नुपर्ने बताए। सरकारले सबैखाले स्वास्थ्य तथा सुरक्षाको उपायका बारेमा कार्ययोजना तथा प्रक्रिया निर्माणको क्रममा मजदुरसँग परामर्श तथा सहभागिता सुनिश्चितता गर्नुपर्ने बताएको छ । सङ्घले मुलुकको यस विषम परिस्थितिमा यातायात मन्त्रालयको समन्वयनमा यातायात व्यवसायी, यातायात क्षेत्रको ट्रेड युनियनलगायतको सहभागितामा सङ्घीयस्तरमा तथा प्रदेशमा प्रदेशस्तरीय समिति गठन गर्न मागसमेत गरेको छ ।

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७०५:००

“सुगौली सन्धि पुनर्जीवित हुन सक्दैन, नेपालले टिस्टादेखि सतलजसम्मको भूभागमा दाबि गर्नुपर्छ”