काठमाडौं- सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो ।
सरकारले यस अगाडी घोषणा गरेको लकडाउनको अवधि जेठ २० गते सकिँदै थियो। तर, नेपालमा कोरोना संक्रमण बढ्ने क्रम देखिएपछि सरकारले लकडाउन बढाउने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
साथै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई सरकारले जिम्मा दिएको छ ।
कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठक गरिएको छ। मन्त्रिपरिषद् बैठक अगाडि बसेको सुरक्षा परिषद् बैठकले सिफारिस गरेअनुसार मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले असार १६ गतेसम्म सबै उडान बन्द गर्ने निर्णय पनि गरेको छ। अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने भएको निर्णयलाई २०७७ साल असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने निर्णय भएको खतिवडाले बताए। साथै सरकारले सीमा नाकामा थप कडाई गर्ने पनि निर्णय गरेको छ।