नेपालले बनाएको सडक भारतले भत्कायो, नेपाली भूमिको पुल पनि वर्षौंदेखि भारतीय कब्जामा !

काठमाडौं । वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको ठुटेखोला पुललाई वर्षौंदेखि भारतीय पक्षले सञ्चालनमा अवरोध गर्दै नियन्त्रणमा राख्दै आएको छ । करिब तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भारततर्फ सिँचाइका लागि पानी लैजान बनाइएको कुलोमा अवरोध हुने भएपछि भारतीय पक्षले अवरोध गर्दै आइरहेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिल्लर रहेको स्थानबाट दशगजा छाडेर करिब ५० मिटरपर नेपाली भूमिमै पुल निर्माण गरिएको छ । तर, वर्षौंदेखि भारतीय पक्षले सो स्थानमा कुलोकै निहुँमा कब्जा जमाउँदै आइरहेको छ । सो पुल स्थानीय जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सञ्चालनमा ल्याइएको थियो । सो पुलले ठोरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई ३ सँग जोड्छ ।

ठोरी गाउँपालिका–२ का वडाध्यक्ष किशोर तामाङले पुल मात्र नभएर पुलभन्दा करिब सय मिटरमाथि रहेको पानीको बाँधसमेत वर्षौंदेखि भारतीय पक्षकै कब्जामा रहेको बताए ।

‘हामीले धेरै लामो विवादपछि बल्लतल्ल पुल बनायौं । अहिले निर्माण सकिएको तीन वर्षपछि पुल सञ्चालन गर्न खोज्दा भारतीय पक्षले आएर बाटो भत्काए । पुल मात्रै होइन, पुलभन्दा सय मिटरमाथि रहेको पानीको बाँधसमेत भारतीय पक्षकै कब्जामा छ,’ ठोरी २ का वडाध्यक्ष तामाङले राजधानीसँग भने ।

उनका अनुसार बिहीबार साँझ भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमि छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन् । उनीहरूले भारतीय नागरिकलाई नै सो सडक भत्काउन ल्याएका थिए ।
तामाङले भने, ‘हामी ठोरीवासी त भारतीयसँग प्रतिकारमा उत्रँदै आएका छौं, तर राज्य पक्षले नै साथ दिएन । हामी उनीहरूसँग प्रतिवाद गर्छाैं । हाम्रो जिल्लाको प्रशासनिक नेतृत्व बोल्दैन ।’

ठोरी–३ का वडाध्यक्ष सूर्य लामाले कुनै हालतमा भारतीय पक्षको दादागिरीलाई ठोरीवासीले नसहने बताए । ‘हाम्रो प्रशासनिक नेतृत्व हाम्रो पक्षमा नहुनु दुःखद छ, वर्षौंदेखि बनाएको पुल हामीले नै सञ्चालन ग¥यौं, उनीहरूको अवरोध आउँदा समेत हाम्रो प्रशासनिक नेतृत्व आउँदैन । योभन्दा दुःखद कुरा के होला ?’ लामाले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की भने सो विषयलाई सामान्य भन्दै पन्छिन खोजे । स्थानीय तहले नै सो विषयमा समन्वयको काम गरिरहेको भन्दै उनी यसबारे बोल्न चाहेनन् ।

‘सामान्य विषय हो, स्थानीय तहमा नै समन्वयको काम भइरहेको छ । समन्वय हुन्छ, भइरहेको छ,’ पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीले भने ।

प्रकाशित : आइतबार, जेठ १८, २०७७०२:०७

जेठ २० गते पछि लकडाउनको मोडालिटी फेरिने !