काठमाडौँ – बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार निधन भएको छ। नेपाली चलचित्र क्षेत्रमा लामो समय देखि सक्रिय रहेका ठकुरीको आइतबार ९१ वर्षको उमेरमा निधन भएको हो।
पारिवारिक श्रोतका अनुसार ठकुरीको एकान्तकुना स्थित आफ्नै निवासमा उनको निधन भएको हो। उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए ।
प्यारालाइसिसबाट समेत ग्रसित उनी ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए । पछि सुगर, प्रेसरले समेत गाँजेपछि उनी उठ्न समेत नसक्ने भएका थिए।
ठकुरीले नेपाली मात्र नभई भारतीय र पाकिस्तानी चलचित्रहरुमा समेत काम गरेका थिए । उनले नेपाली चलचित्रमा चलचित्र ‘जीवन रेखा’ बाट प्रवेश गरेका थिए। उनले सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘भागी भागी नजाऊ’ हो। त्यसयता उनी चलचित्रमा देखा परेका छैनन्।
उनले अभिनय गरेका चलचित्रहरुमा ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायत छन्। चलचित्र मात्र नभई उनले टेलिसिरियल तथा म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका थिए। ठकुरी विशेषतः चरित्र अभिनयको लागि चिनिन्छन्।
पारिवारिक श्रोतका अनुसार उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।